-सुवोधराज प्याकुरेल।
एमालेको महाधिवेशनमा इञ्चार्जको हुकुम अनुसार अधिकांश प्रतिनिधि छानिएका छन् । ५३ प्रतिशत भन्दा बढी सदस्य प्रतिनिधि छनोटको काममा अनुपस्थित रहनुले यसलाई परिस्थितिजन्य प्रमाणको आधारमा साबित गरेको छ । वरिष्ठ उपाध्यक्ष र अध्यक्षले संयुक्तरुपमा प्रतिनिधि छनोट गर्ने निर्णयको प्रतिकूल अध्यक्षले एक्लै मनोनयन गर्नुभएको कुरा उपाध्यक्ष एवम् अध्यक्ष पदका प्रत्यासी ईश्वर पोखरेलले स्वयम् भनिसक्नुभएको छ।
अध्यक्षमण्डलको मातहत महाधिवेशन सञ्चालन गर्ने यसअघिको चलनलाई खारेज गर्दै अध्यक्ष आफैंले सञ्चालन गर्नुभएको छ । किन ? एमालेमा प्रश्न वर्जित छ। त्यसैले जवाफ दिनु परेन । तर स्वयम् उम्मेदवार भएको व्यक्तिले अध्यक्षता गर्ने बैठकमा उसको अतिरिक्त प्रभाव पर्ने कुरा सामान्यतः बुझिने कुरा हो ।
पार्टीभन्दा माथि व्यक्तिलाई राख्दा पार्टी दोयम र व्यक्ति अब्बल हुन्छ भन्नेकुरा बुझ्ने बैचारिक स्पष्टता भएका प्रतिनिधिको नितान्त कमी छ भन्नेकुरा बिचार भन्दा व्यक्तिको पक्षमा प्रकट प्रतिनिधिमूलक अभिव्यक्तिले प्रमाणित गरिरहेको छ ।
आमूल रुपान्तरण तर्फ केपीको प्रतिवेदनले ठोस् प्रस्ताव ल्याएको छैन । जेनजीले माग गरेको आलोकाँचो मागकै तर्जुमा उमेर समूहलाई कोटा छुट्याएर समाधान हुने हो र ? मुख्य कुरा विचार आधारित संगठन र संगठन मातहतको अर्थात् सामूहिक नेतृत्व प्रणाली हुनुपर्ने । अरुलाई गाली आलोचना गरेर होइन आफ्नो प्रष्टिकरण र दृष्टिकोण सुस्पष्ट प्रस्तुत गरेर बिरोधीलाई समेत सोच्न उत्साहित गर्ने र क्रमशः आफ्नो पक्षमा रुपान्तरण गर्ने सोँच शैली र ढाँचा त किमार्थ देखिएन । तन्नेरी–सोच, बिगतको आत्मसमीक्षा र सुधार रुपान्तरण परिवर्तनको कुनै ढाँचा बेगर पक्ष विपक्षमा विभाजित गरेर नेतृत्वमा कब्जा गरेर मात्र केही हुनेवाला छैन । किनभने जानुछ जनतामा । त्यहाँ प्रष्टीकरण दिनुछ, उनीहरुको मन जित्नु छ।
