सिड्नीको ‘बोन्डी बीच’मा बाबुछोराले गरेका थिए आक्रमण

बीबीसी । अस्ट्रेलियाका न्यू साउथ वेल्सका प्रिमिअर क्रिस मिन्सले ’बोन्डी बीच’मा भएको बन्दुक हमलामा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

उनले आक्रमणकारीमध्ये पनि एक जनाको मृत्यु भएको बताए । ज्यान गुमाउनेहरूमा १० वर्षदेखि ८७ वर्ष उमेर सम्मका मानिसहरू रहेको बताइएको छ । प्रहरी आयुक्त माल लान्यनले आक्रमणकारीहरू ५० र २४ वर्षका बुवा र छोरा भएको बताए ।

प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ भने २४ वर्षीय व्यक्तिको अवस्था गम्भीर छ । घटनापछि घटनास्थलमा ड्यूटीमा रहेका प्रहरीहरूसहित ४२ जनालाई अस्पताल लगिएको थियो । प्रहरीले ५० वर्षीय ती व्यक्तिसँग हतियारको लाइसेन्स रहेको बताएको छ ।

उनको नाममा छ वटा हतियार दर्ता गरिएको छ र बोन्डी बीचबाट थप छ वटा हतियार बरामद गरिएको छ ।
घटनास्थलमा दुईवटा विस्फोटक पदार्थ पनि फेला परेको थियो जसलाई प्रहरीले निष्क्रिय पारेको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजीले भविष्यमा हुन सक्ने आक्रमणहरू रोक्न आवश्यक पर्ने सबै स्रोतहरू परिचालन गरिने बताएका छन् । उनले अष्ट्रेलियाली समाजबाट यहूदीविरोधी भावनालाई पूर्ण रूपमा उन्मूलन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

यसैबीच, न्यू साउथ वेल्सकी प्रहरी मन्त्री यास्मिन क्याटलीले बन्दुक हमलाका बेला सहयोग गर्न बोन्डाइ प्रहरी चौकीमा ड्यूटीमा नरहेका प्रहरी अधिकारीहरूका साथै बोन्डाइभन्दा बाहिरका क्षेत्रमा काम गर्ने प्रहरीहरू पनि त्यहाँ पुगेको बताइन् । त्यस्तै प्रहरी आयुक्त माल लान्यनले आक्रमणको प्रतिक्रियामा प्रहरीले बहादुरीपूर्ण काम गरेको र त्यसको प्रशंसा गरिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *