काठमाडौ । नेपाल एपीएफ क्लबले काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ । आइतबार दिउँसो भएको खेलमा काराँची सिटी एफसीलाई १-० गोलले हराउँदै एपीएफ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै एपीएफको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५२ औँ मिनेटमा रश्मीले रेनुका नगरकोटीको क्रसमा हेडर गोल गर्दै एपीएफलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा एपीएफ १-० गोलले विजयी भएको हो ।
जितसँगै एपीएफ तीन खेलबाट ७ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चार खेलबाट दुई अंक जोडेको काराँची तेस्रो स्थानमा यथावत रहेको छ । एपीएफको जितसँगै काराँची र ट्रान्सपोर्ट युनाइटेड प्रतियोगिताबाट बाहिरिएका छन् ।
