भिल्नियस । बेलारुसले त्यहाँको विपक्षी नेता बाबारिको, अधिकारकर्मी मारिया कोलेस्निकोभा र नोबेल पुरस्कार विजेता एलेस बियालियात्स्कीलाई रिहा गरेको छ ।
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को प्रशासनले सन् २०२० मा भएको चुनावपछि लुकाशेनकोका हजारौँ विरोधी, आलोचक र प्रदर्शनकारीहरूलाई थुनामा राख्दै आएको थियो ।
अमेरिकाले मस्कोको निकट सहयोगी मिन्स्कमाथि लगाइएका केही प्रतिबन्ध फुकुवा गर्ने सहमतिपछि बेलारूसको सरकारले प्रमुख स्वदेशी नेता, अधिकारकर्मीसहित थुप्रै विदेशी नागरिकसमेतलाई रिहा गरेको हो । अधिकारवादी समूह, आफन्त र सरकारी सञ्चारमाध्यमले विदेशी नागरिकसहित १२३ जनालाई मुक्त गरिएको बताएका छन् ।
बेलारुसको सरकारी समाचार एजेन्सी बेल्टाले सरकारी र विपक्षी दल सम्वद्ध अधिकारीहरूलाई उद्धृत गरी भनेको छ, “राष्ट्रप्रमुखले विभिन्न देशका १२३ नागरिकलाई माफी दिने निर्णय गरेका छन् ।”
अधिकारवादी समूह भियास्नाले सन् २०२० को प्रदर्शनकारी नेतृ कोलेस्निकोभा र यसका अध्यक्ष बियालियात्स्की पनि ती मध्ये एक रहेको बताएको छ ।
“एलेस बियालियात्स्की स्वतन्त्र हुनुभएको छ”, भियास्नाले सामाजिक सञ्जालमा भने, “उहाँ एक हजार ६१३ दिनको जेल बसाईपछि रिहा हुनुभएको छ र उहाँ लिथुआनियामा निर्वासित जीवन बिताउनुहुने छ।”
“मैले उहाँसँग कुरा गरेँ । उहाँ लिथुआनिया जाँनुहुनेछ । उहाँ अहिले स्वस्थ स्वस्थ हुनुहुन्छ,” बियालियात्स्कीकी पत्नी नतालिया पिन्चुकले भनिन् ।
लामो समयदेखि लुकाशेन्कोको दमनकारी देशमा अधिकारवादी रहेका बियालियात्स्कीलाई विरोधीका रूपमा व्यवहार गर्दै आएको थियो भने उनी सन् २०२२ को नोबेल शान्ति पुरस्कार बिजेता हुन् ।
