काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ६ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टी काठमाडौँका सभापति कृष्ण बानियाँसहित प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा गरी २१ जनाको नाम सिफारिस गरेको छ ।
पार्टीको विधानअनुसार काठमाडौँ क्षेत्र नं ६ बाट सिफारिसका लागि आएका नामलाई आज जिल्ला समितिमा सिफारिस गरिएको काठमाडौँ क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीले जानकारी दिए ।
उनका अनुसार सरकारले आगामी फागुन २१ गतेलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिसकेकाले सोहीअनुसार कांग्रेसले क्षेत्र, जिल्ला र प्रदेशसँग आकाङ्क्षीको नाम माग गरेको हो ।
