काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारद्वारा हालै सहिद घोषणा गरिएका दिवङ्गत पत्रकार सुरेश रजकको परिवारसँग छलफल गरेका छन् ।
उहाँले आज तहाचलस्थित पत्रकार रजकको घरमा पुगेर परिवारसँग भेटघाट र छलफल गरेका हुन् । त्यस अवसरमा उनले रजकको शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै दिवङ्गत पत्रकार रजक सबै नेपालीबीच अमर रहने बताए ।
पत्रकार रजकले सञ्चार क्षेत्रमार्फत समाजको उत्थान र नागरिकलाई सुसूचित गर्दागर्दै ज्यानै बलिदान दिएकाले उच्च सम्मान गर्दै सहिद घोषणा गरिएको र उनको योगदान जनताले कहिल्यै बिर्सन नसक्ने मन्त्री खरेलको भनाइ थियो । उनले सरकार सधँै पत्रकार रजकका परिवारको सहयोगका लागि तयार रहने बताए ।
“पत्रकार रजकले सञ्चार क्षेत्रमार्फत समाजको उत्थान र नागरिकलाई सुसूचित गर्न खेलेको भूमिकाको प्रशंसनीय छ । निष्ठावान् पत्रकारको निधनले सञ्चार जगतमा ठूलो क्षति पुगेको छ । रजकले देखाएको व्यावसायिक भूमिका सधैँ स्मरणीय रहने छ”, मन्त्री खरेलले भने ।
सुरेशका दाइ रमेश रजकले सरकारले भाइलाई सहिद घोषाणा गरेर सरकारले न्याय दिएको बताए । उनले करिब सात महिनासम्म ताकेता गर्दापनि विगतको सरकारले कुनै सुनुवाइ नगरेको भन्दै वर्तमान सरकारले सहिद घोषणा गरेर परिवारलाई सान्त्वना मिलेको भन्दै आभार व्यक्त गरे ।
रजकका आफन्त पुरुषोत्तम मगियाले पनि भने, “सरकारको निर्णय स्वागतयोग्य छ, सञ्चारमन्त्री स्वयम्ले पेसागत जिम्मेवारी निर्वाहका क्रममा मृत्यु भएका पत्रकार सुरेशलाई सहिद घोषणा गर्ने कार्यलाई चासो लिएर पहलकदमी गरिदिनुभयो । उहाँको यस कार्यप्रति रजकको परिवार र हामी सबै आभारी छौँ ।”
गत चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजतन्त्र पक्षरको प्रदर्शनको क्रममा एभिन्यूज टेलिभिजनमा कार्यरत भिडियो पत्रकार रजकको मृत्यु भएको थियो । प्रदर्शनकारीले आगजनी गरेको घरमा दृश्य कैद गर्ने क्रममा उहाँको जलेर मृत्युभएको थियो ।
मृत्यु रजकलाई सहिद घोषणा गर्न परिवारले माग गर्दै आएको थियो । मन्त्री खरेलको पहलमा दिवङ्गत पत्रकार रजकलाई यही मङ्सिर २२ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गरेको थियो । यसका साथै उनकी श्रीमतीलाई रोजगारीको व्यवस्थासमेत गरिएको छ ।
