अहिलेको अवस्थामा कम्युनिष्ट एकताको विकल्प छैनः महासचिव गुरुङ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव देव गुरुङले अहिलेको अवस्थामा कम्युनिष्ट एकताको विकल्प नभएको बताएका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहमा महासचिव गुरुङले अहिलेको अवस्थामा कम्युनिस्ट एकता जरुरी रहेको बताएका हुन् । उनले कम्युनिष्ट एकताका लागि आफ्नो पार्टीले प्रयास गरिरहेको बताए ।

उनले भने, ‘कम्युनिष्टहरू एकताबद्ध हुनुको विकल्प छैन। वामपन्थी एकताको विकल्प छैन। राष्ट्रवादी शक्तिसँगसहकार्य गर्दै अघि बढ्नुपर्छ।’

उनले संविधान कोमामा रहेकाले संकट समाधानका लागि वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताए ।

उनले भने, ‘यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर संकटमा छ, संविधान कोमामा छ । मुलुकको राष्ट्रिय स्वाधीनता सुगौली सन्धिपछि सबैभन्दा संकटमा छ । यो संकट सम्बोधन गर्ने अग्रगामी शक्ति कम्युनिस्ट पार्टी मात्र हुन सक्छ ।’ उनले एमालेको महाधिवेशनले पनि त्यसका लागि आवश्यक निर्णय गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *