सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएल च्याम्पियन

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार बेलुकी भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक उपाधि जितेको हो । यससँगै सुदूरपश्चिमले लगातार दोस्रो सिजन उपविजेतामा चित्त बुझाएको छ ।

जितको लागि ८६ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले ९ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।  लुम्बिनीलाई जित दिलाउन दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गरे । उनले १३ बलमा ५ छक्का र एक चौकाको मद्दतमा ४२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले १६, डार्सी शर्टले १४ र निरोशन डिकवेलाले नटआउट ११ रन बनाए ।

सुदूरपश्चिमको लागि हेमन्त धामीले दुई विकेट लिँदा अविनाश बोहोरा र दीपेन्द्र सिंह एरीले एक विकेट लिए ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको सुदूरपश्चिम १९.१ ओभरमा अलआउट हुँदै ८५ रनमा समेटिएको थियो । सुदूरपश्चिमको लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाउँदा दीपेन्द्र सिंह एरीले १३ तथा हर्मित सिंह र स्कट कुगेलेइनले १०/१० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा रोक्न रोहित पौडेलले ४ ओभरमा १२ रन दिएर तीन विकेट लिए । उनले ११ औँ ओभरको अन्तिम तीन बलमा दीपेन्द्र सिंह एरी, दिपक बोहोरा र पुनित महरालाई पभिलियन फर्काउँदै ह्याट्रिक पूरा गरेका हुन् । यस्तै रुबिन ट्रम्पेल्म्यान र शेर मल्लले तीन/तीन विकेट लिँदा तिलक भण्डारीले एक विकेट लिए ।

जितसँगै लुम्बिनीले एक करोड १० लाख रुपियाँ प्राप्त गरेको छ भने उपविजेतामा सिमित सुदूरपश्चिमले ५१ लाखमा चित्त बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *