सरकारले निर्वाचनको वातावरण बनाएनः कार्यवाहक सभापति खड्का

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेलेको बताएका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा खड्काले ती आपराधिक क्रियाकलाप गर्नेलाई समयले माफ नगर्ने बताए । उनले नेपालमा ऐतिहासिक सम्पत्ति, विभिन्न राजनीतिक दलका कार्यालय जलाइएको उल्लेख गरे ।

उनले सर्वोच्च अदालतमा विचाराधीन विषयलाई खुला राख्दै संवैधानिक निकासका लागि चुनावमा जानुपर्ने बताए । उनले चुनावको वातावरण भने नबनेको बताए ।

उनले प्रश्न गरे, ‘नागरिकमा त्रास फैलिएको अवस्था छ, के सरकारका गतिविधिहरू निर्वाचन वातावरण बनाउनतर्फ लक्षित छन् ?’

खड्काले नेकपा एमालेले सर्वसम्मत विधि, प्रक्रियाबाट सक्षम र सबल नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे । उनले प्रमुख राजनीतिक दलहरू कमजोर भएको अवस्थामा मुलुकमा निरंकुशता हाबी भएको स्मरण गरे ।

बहुदलीय व्यवस्थामा राजनीतिक दलहरू संगठित, व्यवस्थित र जनप्रिय हुनुपर्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *