विशेष अदालतले तीर्थराज भट्टराईसँग माग्यो २५ लाख धरौटी

काठमाडौं । विशेष अदालतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसँग २५ लाख रुपैयाँ धरौटीमा माग गरेको छ । शुक्रबार विशेष अदालतले भट्टराईसँग २५ लाख धरौटी माग गरेको हो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य नारायणप्रसाद पौडेलको इजलासले भट्टराईलाई २५ लाख रुपैयाँ धरौटी वा बैंक जमानतमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । तर, इजलासका अर्का सदस्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठले भने बहुमतको रायमा असहमति जनाउँदै भट्टराईलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने राय व्यक्त गरेका छन् ।

भट्टराईमाथि प्रमुख अध्यागमन अधिकृत रहँदा विभिन्न ट्राभल्स कम्पनी र बिचौलियाहरूसँग मिलेर ‘सेटिङ’ मिलाई भिजिट भिसामा मानिस विदेश पठाएको आरोप लागेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध २५७ जना यात्रुबाट ७९ लाख ८० हजार रुपैयाँ घुस लिएको दाबी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *