प्रभु बैङ्कका विप्रेषण विभागका प्रमुख शाक्य पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले रेमिट कारोबार गर्ने क्रममा प्रभु बैङ्कलाई एक अर्बभन्दा बढी हानी नोक्सानी पुर्याएको आरोपमा बैङ्कका विप्रेषण विभाग प्रमुख सुजिन शाक्यलाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई बुधबार ललितपुर महानगरपालिका—११ ईखांछेबाट शाक्यलाई पक्राउ गरेको हो । शाक्यले रेमिट कारोबार गर्दा प्रभु बैङ्कलाई हानी र आफ्नो स्वार्थ समूहअन्तर्गतको प्रभु मनि ट्रान्सफरलाई फाइदा हुने गरी बैङ्किङ कसुर गरेको ब्यूरोले आरोप छ ।

रेमिटबापतको ‘प्रिफण्डिङ’ दिन सक्ने कानुनी व्यवस्थाको दुरुपयोग गरी गराई त्यसको नाममा नियम विपरीत अर्बौ रकम दिई त्यसबापत नियमानुसार ब्याजसमेत नलिई बैङ्कलाई एक अर्बभन्दा बढी रकम नोक्सानी पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।

ब्यूरोले नियम विपरित ‘सुपर एजेन्ट’ बनाई रेमिटन्स कारोबार गर्न प्रभु म्यानेजमेन्ट प्रालिलाई एड्भान्स रकम दिई उक्त कम्पनीसँग रेमिट कारोबार स्थगित भए पनि स्वार्थ समूहलाई सो रकम प्रयोग गर्न दिएको आरोपमा यसअघि बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित उच्च पदस्थ कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *