म्यानमारबाट ४७ नेपालीलाई उद्धार गरी फर्काइयो नेपाल

काठमाडौं । म्यानमारमा अवैधरूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा लगाइएका ४७ जना नेपाली बुधबार स्वदेश फर्किएका छन् ।

थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासले सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा उनीहरूको उद्धार गरी नेपाल एयरलाइन्सको उडानमार्फत उनीहरुलाई बुधबार नेपाल फर्काइएको जनाएको छ ।

अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका काममा लगाइएका २६ जिल्लाका ४७ जना नेपालीको उद्धार गरिएको दूतावासले जनाएको छ । जसमा ४५ पुरुष तथा २ जना महिला छन् ।

उनीहरू चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ, तेह्रथुम जिल्लाका एक एक–जना, दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँ जिल्लाका दुई–दुई जना, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुर जिल्लाका तीन–तीन जना तथा झापा जिल्लाका ५ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *