हामीलाई चाहिएको व्यक्ति होइन, सोच हो

-डा. युवराज संग्रौला ।

देश गफ र सत्ता प्रतिस्पर्धाको भूमरीमामा रन्थनिएको छ, नागरिकले खोजेको गरीखाने समृद्धिको बाटो हो केही थान यान्त्रिक लोकपृयता होइन । सबै मान्यता र सिद्धान्तहरु समाप्त गरेर ल्याइने परिवर्तन अन्ततः अराजकतामा समाप्त हुन्छ। परिवर्तनका केही आधारभूत नियम छन् ।

१. परिवर्तनको अभियान विचारको नेतृत्वले हाँकेको हुन्छ, र समाजको गति र संगठन हेरेर अगुवाले परिवर्तनको मार्ग तयगर्छ, नागरिककै सहयोगमा ।

२. परिवर्तनमा समाजको एउटा स्वरुपलाई बदलेर अर्को स्वरुप निर्माण गर्ने ‘वैचारिक मान्यताका सुत्र’ हुन्छन्, अतः परिवर्तनले ती मात्र गतिविधि स्वीकार गर्छ जो घोषित मान्यताभित्र पर्दछन् ।

३. परिवर्तनका लक्षित वर्ग नागरिक हुन्, स्वार्थ समूह होइन। परिवर्तनको अभियान र निर्वाचन समेत कसैको शक्ति बर्चस्व स्थापित गर्न ‘निर्माण गरिएको कुम्भ मेला होइन।’

देशमा अहिलेको समस्या नागरिकलाई शक्तिशाली बनाउँदै, राज्यसत्ता उनीहरुको सर्वोच्चता कायम गर्ने हो र त्यसकालागि देशको अर्थतन्त्र नागरिकका अधीनमा हुनुपर्छ। नागरिकमात्र देशका मालिक हुन् । आजको यो अवस्था हिजो राजनीतिक दलमा एकल वा एउटा समूहको हालिमुहाली र एकतन्त्रको कारणले सिर्जना भएको हो, जसले नागरिकको श्रम बेचेर आफू धनी हुने र उत्पादन ध्वस्त पार्ने काम गर्यो। त्यसकैविरुद्धमा ‘व्यवस्था बदलियो अवस्था बदलिएन’ भन्दै विकल्प दिनेहरु अंग्रेजी र नेपाली मिश्रणका भाषण लिएर अगाडी आए । उनीहरुले यो ‘अवस्था’ गलत व्यवस्थाको परिणाम थियो भन्ने बुझेनन्, त्यसैले ‘व्यवस्था बदलेर’ मात्र अवस्था रूपान्तरण हुन्छ भन्ने बुझ्न सकेनन् । जेनजी आन्दोलन यही सत्यको अभिव्यकति थियो। तर आज यी विकल्पवादी नै जनजी आन्दोलनका मसिहा बनेका छन् । उनीहरुले निर्माण गरेको वा उनीहरुको भ्रमले निर्माण गरेको “हाम्रो होइन राम्रो व्यक्तिले अवस्था बदल्छ’ भन्ने नाराका पछाडि मानिस कुदे, र आजपनि त्यही भ्रम नेपालको परिवर्तनको ‘यात्रा कम्पास बनिरहेको छ र देशको उडान कतै पहाडमा ठोकिन संभावना प्रवल छ।’ नागरिकलाई हिजो देउवा, ओली, प्रचण्डलाई मसिहा बनाउने भ्रम’ आज रवि, हर्क, कुलमान मसिहा बनाउन कुदिरहेको छ । हिजोको नेतृत्व असफल भयो किनकी यिनीहरुले बैचारिक मान्यता छोडेर देशलाई दिशाहीन भविष्यतिर लगे। आजका मसिहामा पनि विचार छैन । नागरिक हुलमा परिणत हुँदैछन् । पार्टीका नाममा हिजो असफल मानिसका गोठहरु बन्दैछन् ।

आज देशलाई चाहिएको विचारले निम्न प्रश्नहरुको उत्तर दिनुपर्छ

१. देशको अर्थतन्त्र ‘रोजगार निर्माण नगर्ने र उत्पादनबाट अर्थतन्त्रको’ वृद्धि नगर्ने “पानीफोका अर्थतन्त्रमा परिणत भएको छ र यो सीमित व्यक्तिको अधिनमा छ। यो जनविरोधी राष्ट्र बिरोधी अर्थतन्त्रले श्रम निर्यात गरिरहेको छ र देशभित्र बेरोजगारीको डरलाग्दो समस्या निर्माण गरिरहेको छ। जेनजी आन्दोलन यसैको परिणाम हो । यस्तो अर्थतन्त्रमा भ्रष्टाचार नै जन्मिने हो। यो समस्या समाधान गर्ने ‘आर्थिक खाका के हो ?’ अहिलेका मसिहासँग पनि त्यो बिचार छैन।

२. बैंकहरुमा ६२ खर्ब रकम छ। त्यो नेपाली जनताको धन हो । राष्ट्र बैंकमा २० अर्ब बराबरको डलर छ, सुन छ । प्रत्येक चार महिनामा ५५० अर्ब रेमिटेन्स विदेशबाट आइरहेको छ । देशलाई लगानीका लागि कुनै विदेशीको सहयोग आवश्यक छैन । तर यो समग्र ‘पुँजी’को लगानी भएन र देशले आफ्नो श्रोत पुँजीकरण गरेन, किनकी नेतृत्व पुँजीकरणनै चाहँदैन । ऊ अभिजात वर्ग जन्माइरहेको छ, र ‘सुद कमाउने (रेण्ट सिकिङ्ग) रोगबाट ग्रस्त छ।’ उत्पादनमा पुँजी लगाउँदैन, र पुँजी लगानी गर्ने उद्यमीलाई पचासतिरबाट तगारो हाल्छ। यो समस्याको समाधान अहिलेका मसिहाले कसरी गर्ने हो ?

त्यसैले मैले भनेको हो ‘हामीलाई चाहिएको व्यक्ति होइन सोच हो, त्यो सोच भनेको देशमा रहेको पर्याप्त पुँजीलाई उत्पादनमा लगाएर आर्थिक वृद्धिको माहौल तयार पार्ने सोच हो।’ हामीलाई चाहिएको गाग्रो होइन, मूल हो र त्यो मूल सफा गरेर अनेक गाग्रा पानी जम्मा गर्ने हो। तर आज पनि नेपाली नागरिकलाई भ्रमित पारिएको छ ।

१. यदि राजसंस्थासँग यो समस्याको समाधान गर्ने सोच छ भने समर्थकहरु बाहिर ल्याउनुहोस्, र त्यो सोच सहित सडकमा आउनुहोस् । गणतन्त्रलाई गाली गरेरमात्र राजसंस्थाको सार्थकता प्रमाणित हुन्न । त्यो सोचसहित आउनुहोस् म तपाईँहरुको झण्डा बोक्न तयार छु।

२. ‘हर्कवाद’ले पनि ल्याउने ‘सोच’ नै हो। यदि हर्कवादले यो ल्याउँछ भने उसको झोला पनि बोक्न तयार छु ।

३. घिसिङ्गको उज्यालोले ल्याउनुपर्ने पनि सोच नै हो। उहाँका हकमा पनि यही हो।

४. संसद पुनःस्थापनावादीले दिनुपर्ने पनि सोच नै हो । हिजोको सामन्तवाद फ्याँकेर विचार दिनुहुन्छ भने तपाईँको पछि लाग्न पनि तयार छु ।

५. एमाले र कांग्रेसका खेमाले पनि दिने सोच नै हो ।

तर खोही कहाँ छन्, ती सोचहरु ? हामीसँग जहाज छ। तर जहाज को ‘यात्रामार्ग’ (नेभिगेसन प्रणाली) छैन। निर्माण गर्ने यही नेभिगेसन प्रणाली हो । नागरिकले सचेत हुने र सर्वोच्चता खोज्ने बेला हो यो, पछाडि दौडने मात्र होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *