काठमाडौं । भारतको पिथौरागढमा नेपाली सेना र भारतीय सेनाले १४ दिन संयुक्त अभ्यास गरेका छन् । मंसिर ९ देखि गते २२ गतेसम्म सञ्चालित संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’को १९ औँ संस्करण सम्पन्न भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
सैन्य अभ्यास ‘सूर्य किरण’ २०६७ सालबाट नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको छ। गत वर्ष यो तालिम नेपालमा सञ्चालन भएको थियो । अभ्यासअन्तर्गत विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोग लगायत विषय छन् ।
अभ्यास निरीक्षणका लागि नेपाली सेनाका तर्फबाट उपरथी अनुपजंग थापासहितको टोली सहभागी भएको थियो ।
नेपाली सेनाले विविध विषयमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारतलगायत देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगितामा सहभागिता जनाउने गरेको छ ।
यस किसिमका संयुक्त सैनिक अभ्यासले मित्रराष्ट्रहरूबिच मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउनाका साथै सकलदर्जामा पेसागत सिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ।




