उत्तरी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, दर्जनौँ घाइते

बीबीसी । उत्तरी जापानमा सोमबार राति ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३० जना घाइते भएका छन् । भूकम्पपछि हजारौँ मानिसहरूलाई घर छाडेर सुरक्षित स्थानतर्फ गएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समय अनुसार राति २३ः१५ बजे आओमोरी क्षेत्रको तटदेखि करिब ८० किलोमिटर टाढा, ५० किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु भएको बताइएको छ । भूकम्पपछि जारी गरिएको सुनामी चेतावनी हटाइएपनि करिब ७० सेन्टिमिटर उचाइका छालहरू देखिएका थिए।

भूकम्पका कारण रेल सेवा अवरुद्ध भएको छ भने हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ । अधिकारीहरूले आगामी केही दिनसम्म झनै शक्तिशाली कम्पन आउन सक्ने चेतावनी दिँदै कम्तीमा एक हप्तासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

समाचार संस्था रायटर्सका अनुसार करिब ९० हजार जनालाई स्थानान्तरणका आदेश दिइएको छ । आओमोरी प्रान्तीय सरकारका अनुसार करिब २,७०० घरमा बिजुली बन्द छ भने इस्ट जापान रेलवेले उत्तर–पूर्वीय तटका केही रेल सेवा रोकिएको जनाएको छ।

सन् २०११ मार्च ११ मा जापानको पूर्वी तट नजिकै आएको ९.० म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीले १८ हजार भन्दा बढीको मृत्यु गराएको र फुकुशिमा केन्द्रसहित धेरै क्षेत्रलाई प्रभावित पारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *