‘जेनजी आन्दोलनमा दमन गर्नेलाई पद वा हैसियतको कुनै पर्वाह नगरी पारदर्शी प्रक्रियामार्फत न्यायको कठघरामा ल्याउनुपर्छ’

काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन नियन्त्रणका क्रममा भएका मानवअधिकार उल्लङ्घनबारे प्रतिवेदन सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले शान्तिपूर्ण भेला गरिरहेका युवामाथि गरिएको बल प्रयोग मानव जीवनप्रति निष्ठुर बेवास्ता रहेको टिप्पणी गरे । उनले जिम्मेवार सबैलाई पद वा हैसियतको प्रवाह नगरी निष्पक्ष प्रक्रियाबाट कारबाहीमा ल्याउनुपर्नेमा जोड दिए ।

शान्तिपूर्ण प्रदर्शनमा सुरक्षा निकायद्वारा अत्यधिक बल प्रयोग, गैरकानुनी हत्या र घाइते हुने घटनाले अन्तरराष्ट्रिय मानवअधिकार मापदण्ड उल्लङ्घन गरेको स्पष्ट देखाइएको प्रतिवेदनमा उल्लेख छ । भदौ २३ गते काठमाडौँमा कम्तीमा १९ जनाको मृत्यु र ३०० भन्दा बढी घाइते भएको प्रतिवेदनमा उल्लेख छ । त्यसपछिका अशान्तिमा देशभर ७६ जनाको मृत्यु र दुई हजारभन्दा बढी घाइते हुने अवस्था सिर्जना भएको पनि उल्लेख गरिएको छ ।

प्रतिवेदनमा प्रत्यक्षदर्शीको बयान, तस्बिर र भिडियो प्रमाण, चिकित्सक र पत्रकारसँगको अन्तर्वार्ताका आधारमा निष्कर्ष निकालिएको जनाइएको छ ।

प्रतिवेदनमा प्रदर्शनका क्रममा मारिएका र घाइते युवाहरूलाई न्याय दिलाउन सरकारसँग आह्वान गर्दै विरोध व्यवस्थापनसम्बन्धी कानुन र अभ्यासलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार सुधार गर्न सुझाव दिइएको छ ।

यस्तो छ एम्नेष्टीको प्रतिवेदन

भाद्र महिनामा युवा नेतृत्वको ‘जेन-जेड’ विरोध प्रदर्शनलाई नियमन गर्नमा नेपालका कानुन कार्यान्वयन गर्ने निकायहरूद्वारा भएको व्यापक असफलताका कारण गैरकानुनी हत्या, बलको अनावश्यक र अत्यधिक प्रयोग तथा गम्भीर चोटपटक लाग्न पुगेको एम्नेस्टी इन्टरनेसनलले आफ्नो एउटा नयाँ ब्रिफिंगमा उल्लेख गरेको छ।
‘हामी त्यहाँ हाम्रो आवाज उठाउन गएका थियौँमारिन होइन’– प्रदर्शनकारीहरूमाथि नेपालको घातक दमन शीर्षकको ब्रिफिङ्गले भाद्र २३ गते कम्तिमा १९ जनाको मृत्यु र ३०० भन्दा बढी घाइते हुनेगरी काठमाडौँमा भएको सभाको क्रममा पूर्णतः शान्तिपूर्ण प्रदर्शनकारीहरू विरुद्ध सुरक्षा बलहरूले कसरी बढ्दो र अन्ततः गोला बारुद सहितको घातक बल प्रयोग गर्यो भन्ने सवालमा दस्तावेजीकरण गरेको छ। दुई दिनको विरोध प्रदर्शन र त्यसपछिको छ दिनसम्मको अशान्तिले देशभरी  ७६ जनाको मृत्यु हुनुको साथै २,००० भन्दा बढी घाइते भए।

‘शान्तिपूर्ण भेला हुने अधिकारलाई अभ्यास गरिरहेका युवाहरूप्रति सरकारको हिंसात्मक र गैरकानुनी प्रतिक्रियाले मानव जीवनप्रति उसको स्तब्धकारी र निष्ठुर बेवास्तालाई प्रतिबिम्बित गर्दछ। यी दुर्व्यवहारहरू गर्ने वा गर्नका लागि सहजीकरण गर्ने वा आदेश दिने कार्यमा जिम्मेवार सबैलाई उनीहरूको पद वा हैसियतको कुनै पर्वाह नगरी निष्पक्ष र पारदर्शी प्रक्रियामार्फत न्यायको कठघरामा ल्याइनुपर्दछ,’ एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने।

शान्तिपूर्ण भेला हुने अधिकारलाई अभ्यास गरिरहेका युवाहरूप्रति सरकारको हिंसात्मक र गैरकानुनी प्रतिक्रियाले मानव जीवनप्रति उसको स्तब्धकारी र निष्ठुर बेवास्तालाई प्रतिबिम्बित गर्दछ।
यी दुर्व्यवहारहरू गर्ने वा गर्नका लागि सहजीकरण गर्ने वा आदेश दिने कार्यमा जिम्मेवार सबैलाई उनीहरूको पद वा हैसियतको कुनै पर्वाह नगरी निष्पक्ष र पारदर्शी प्रक्रियामार्फत न्यायको कठघरामा ल्याइनुपर्दछ

एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलिया

एम्नेस्टी इन्टरनेसनलले प्रत्यक्षदर्शीहरूको बयान तथा फोटो र भिडियो प्रमाणहरूको पुष्टिकरण गर्नुका साथै चिकित्सक र स्वास्थ्यकर्मी, प्रदर्शनकारी, विरोध प्रदर्शनका अवलोकनकर्ता, प्रदर्शनका आयोजक र पत्रकारहरूसँग अन्तर्वार्ता लिएको थियो। एम्नेस्टीका निष्कर्षहरूले भेलालाई नियमन र व्यवस्थापन गर्ने क्रममा बल प्रयोग गर्नु अघि अहिंसात्मक माध्यमहरूलाई पूरा नगर्ने, कम घातक हतियारहरूको खतरनाक र गैरकानुनी प्रयोग गर्ने, विरोध प्रदर्शनहरूको व्यवस्थापन र नियमनका लागि कमजोर योजना, तयारी र तालिम, गम्भीर चोटपटक वा जीवनमाथि कुनै आसन्न खतरा नभएको अवस्थामा समेत घातक बलको अनावश्यक र गैरकानुनी प्रयोग गर्ने लगायतका प्रणालीगत विफलताहरूको एउटा श्रृंखलालाई उजागर गरेका छन्।

यी कार्यहरूले नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धअन्तर्गत प्रत्याभूत गरिएका शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको उल्लङ्घन भएका छन्।

शान्तिपूर्ण प्रदर्शनकारीहरूविरुद्ध बढ्दो बल प्रयोग

भिडियोमा संसद भवनदेखि ५०० मिटरभन्दा कम दूरीमा रहेको प्रहरी ब्यारिकेडलाई प्रदर्शनकारीहरूले तोडेको क्षण देखिन्छ। © एम्नेस्टी इन्टरनेसनल

कुनै पनि अप्रिय घटना बिना सुरु भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा जब भिडको एउटा भागले ५०० मिटर भन्दा कम दूरीमा रहेको संसद भवनतिर प्रदर्शनकारीहरूलाई अघि बढ्नबाट रोक्नका लागि राखिएको प्रहरी ब्यारिकेडलाई भत्काएपछि कसरी तनाब बढ्यो भन्ने बारेको विवरण ब्रिफिङ्गले दिएको छ।

सुरक्षा बलहरूले पानीको फोहोरा प्रयोग गरेर त्यसको प्रतिवाद गरेका थिए। केही अवस्थामा प्रदर्शनकारीहरू विरुद्ध अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअन्तर्गतको आवश्यकता र समानुपातिकताको सिद्धान्तहरूको कसीमा गम्भीर चासो पैदा गर्ने तवरमा नजिकैबाट उच्च-दबावका पानीका फोहोराहरू प्रयोग गरिएको थियो। पछिल्ला केही घण्टाको अवधिमा बलको प्रयोग द्रूत गतिमा बढेको थियो र प्रत्यक्षदर्शीहरूले बताएअनुसार सुरक्षा बलहरूले आफ्नो प्रतिक्रियालाई तीव्र पार्दै गर्दा हतासा र अस्तव्यस्तताको अवस्था पैदा भएको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार अश्रुग्याँसका ग्रेनेडहरूलाई माथिल्लो स्थानबाट प्रहार गरिएको थियो जुन अत्यन्तै खतरनाक अभ्यास हो र यो कम घातक हतियारको प्रयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निर्देशिका विपरीतको कार्य हो। केही अश्रुग्याँस ग्रिनेडलाई अस्पताल परिसर भित्र र वरपर पनि प्रहार गरिएको थियो र यसले आपतकालीन चिकित्सा सेवाहरू अवरुद्ध हुन पुगेको थियो। अस्पताल क्षेत्र भित्र र वरपर अश्रुग्याँस प्रहार गरिएकोले गर्दा विरोध प्रदर्शनमा भाग नलिएका अस्पतालमा भर्ना गरिएका बिरामी, बालबालिका र वृद्धवृद्धाहरूलाई श्वासप्रश्वासमा कठिनाइ भएको चिकित्साकर्मीहरूले बताए।

चेतावनी नदिइकनै र तनाव कम गर्नका लागि कुनै अर्थपूर्ण प्रयास नगरिकनै रबर बुलेट र रबरले लेपित धातुका गोलीहरू सहितका काइनेटिक इम्प्याक्ट प्रोजेक्टाइलहरूलाई बाक्लो भीडमा सिधै प्रहार गरिएको थियो जुन १४ वर्षका युवा प्रदर्शनकारीसम्मलाई लाग्न पुगेको थियो। घाइतेहरूको उपचारमा संलग्न डाक्टरले बिरामीहरूको खप्परबाट रबर बुलेटहरू झिकिएको पुष्टि गरे।

कम घातक हतियारहरूको यस्तो दुरुपयोग कानुन कार्यान्वयन गर्ने अधिकारीहरूद्वारा बल र बन्दुकको प्रयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आधारभूत सिद्धान्त र कानुन कार्यान्वयनका क्रममा कम घातक हतियारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार निर्देशिका जस्ता अन्तर्राष्ट्रिय मापदण्ड तथा नेपालको स्थानीय प्रशासन ऐनको उल्लङ्घन हो।

घातक बलको गैरकानुनी प्रयोग 

बलको प्रयोग तीव्र वृद्धि हुँदै गएपछि गोलीको गैरकानुनी प्रयोग गरिएको पनि एम्नेस्टी इन्टरनेसनलले अभिलेख  गरेको छ।

संसदको प्रवेशद्वार नजिकै भएको विरोध प्रदर्शनको दस्तावेजीकरण गरिरहेका एक पत्रकारले भने: ‘अन्धाधुन्ध तवरमा गोलाबारी सुरु भयो — संसद परिसर भित्रबाट, बाहिरबाट र मुख्य प्रवेशद्वार नजिकै रहेको सशस्त्र इकाइहरूबाट।’

स्वास्थ्यकर्मी र घाइते व्यक्तिहरूले दिएका बयानहरूअनुसार महत्त्वपूर्ण अंगहरूमा गोलीको चोट लागेको छ। सुरक्षा बलहरूले प्रदर्शनकारी, बालबालिका, हिँडडुल गर्ने सर्वसाधारण र पत्रकारसहितको भीडमै गोली चलाए। जसबाट मानिसको टाउको, घाँटी र छातीमा गोली लाग्न पुग्यो।

घाइते धेरैजनाको उपचार गरिएको एक अस्पतालका डाक्टरले भने:

‘सामूहिक रूपमा आम घाइते हुने विपत्तिहरूमा सामान्यतया गम्भीर घाइतेको संख्या कम हुन्छ र हल्का वा मध्यम स्तरका घाइतेहरूको सङ्ख्या धेरै हुने गर्छ। मृत्युका केसहरू पनि केही थोरै मात्र हुन्छन्। हामी त्यहीअनुसार तयारी गर्छौँ। साधारणतया हामी १०–२०% मात्र गम्भीर घाइते हुने अपेक्षा गर्छौँ। तर यसपटक ठीक उल्टो भयो – गम्भीर घाइतेहरूको संख्या अत्यधिक थियो, सम्भवत ५०–६०% सम्म।’

घाइते प्रदर्शनकारीहरूको उपचारमा संलग्न अर्का डाक्टरले भने: ‘कतिपयको टाउको र छातीमा गोली लागेको थियो, अरूको पेटमा वा प्रमुख रक्त नलीहरूमा ज्यानै जोखिममा पार्ने खालका चोटहरू थियो … दिउँसो करिब २ बजेतिर आकस्मिक कक्ष सबैभन्दा भयावह अवस्थामा पुगेको थियो – जताततै रगतै रगत, बिरामीहरू ढलिरहेका, डाक्टर र नर्सहरू निरन्तर दौडधुप गरिरहेका। लाग्थ्यो त्यो एउटा कुनै कशाई घर थियो।’

दिउँसो करिब २ बजेतिर आकस्मिक कक्ष सबैभन्दा भयावह अवस्थामा पुगेको थियो – जताततै रगतै रगत, बिरामीहरू ढलिरहेका, डाक्टर र नर्सहरू निरन्तर दौडधुप गरिरहेका। लाग्थ्यो त्यो एउटा कुनै कशाई घर थियो।

घाइते प्रदर्शनकारीहरूको उपचारमा संलग्न एक डाक्टर

एम्नेस्टी इन्टरनेसनलले मृत्यु वा गम्भीर चोटपटकको आसन्न खतरा नभएको अवस्थामा प्रहरीले घातक बल प्रयोग गरेको प्रमाण फेला पारेको छ जसको परिणामस्वरूप जीवनको अधिकारबाट मानिसलाई स्वेच्छाचारी तवरमा वञ्चित पारिएको छ।

प्राय शान्तिपूर्ण रहेका प्रदर्शनकारीहरू विरुद्ध जानाजानी र लापरबाहीपूर्वक धातुका गोली, काइनेटिक इम्प्याक्ट प्रोजेक्टाइलहरू, पानीको फोहोरा र अश्रु ग्याँसको प्रयोग कुनै पनि परिस्थितिमा जायज ठहर्दैन।

‘जेन-जेड विद्रोहको क्रममा मारिएका र घाइते भएका युवाहरू सत्य र न्यायका हकदार छन्। विगतमा भएका विरोध प्रदर्शनहरूमा भएका मानवअधिकार उल्लङ्घनहरूमा जवाफदेहिता सुनिश्चित गर्न विफल भएर लगातारका सरकारहरूले दण्डहीनताको जरा फैलिन दिइराखेका छन् र विधिको शासनलाई कमजोर बनाएका छन्। अधिकारीहरूले विगतका गल्तीहरू दोहोर्याउने र पीडितलाई तिरस्कार गर्ने कार्य गर्नु हुँदैन। जवाफदेहिता बिना र नेपालले आफ्नो प्रहरी परिचालनको अभ्यासमा तुरुन्तै सुधार नगरेसम्म यी गैरकानुनी हत्याहरूलाई सहज बनाउने अवस्थाहरू कायम रहनेछन् र यसले भविष्यमा हुने भेला र ती भेलामा सहभागी हुनेहरूको जीवनलाई जोखिममा पार्नेछ,’ निराजन थपलियाले भने।

एम्नेस्टी इन्टरनेसनल सरकारलाई भेलाहरूप्रति अपनाइएको समग्र दृष्टिकोणलाई समीक्षा गर्न र प्रहरीद्वारा शान्तिपूर्ण विरोध प्रदर्शनहरूलाई सहजीकरण गर्ने गराउने कुरा सुनिश्चित गर्न तथा बल प्रयोगसम्बन्धी लगायतका घरेलु कानुनहरूलाई अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डहरूसँग पूर्ण रूपमा मेल खाने गरी परिमार्जन गर्न आह्ववान गर्दछ।

पृष्ठभूमि

एम्नेस्टी इन्टरनेसनलको ब्रिफिङ्ग भाद्र २३ गते भएको पहिलो दिनको विरोध प्रदर्शनमा केन्द्रित रहेको छ। भाद्र २३ पछिका घटनाहरूलाई यस ब्रिफिङ्गमा समावेश नगरिएको भएपनि २०८२ भाद्र महिनामा भएको व्यापक अशान्तिको बीचमा मृत्यु, घाइते र सम्पत्तिमाथिको गम्भीर क्षति हुनेगरी मानिस र सम्पत्तिहरूमाथि गरिएको भीड हिंसाको प्रयोगलाई एम्नेस्टी इन्टरनेसनल भत्सर्ना गर्दछ। अधिकारीहरूले यी हिंसात्मक घटनाहरूमाथि व्यापक, प्रभावकारी, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नुपर्छ र संदिग्धहरूलाई पहिचान गर्नका लागि उचित सावधानी अपनाई उनीहरूलाई निष्पक्ष सुनुवाइको प्रकृयामार्फत कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *