पार्टीलाई अध्यक्ष ओलीले व्यक्तिवादी बनाएको उपाध्यक्ष पाण्डेको आरोप

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले कानून र संविधानमै पटक–पटक नेतृत्वमा पुग्ने बाटो बन्द गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले यस्तो बताएका हुन् । उनले एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था कानुनमा गर्नुपर्ने त्यसले पार्टीमा उत्साह थप्ने बताए ।

उनले एमालेलाई अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिवादी बनाएको आरोप लगाए । उनले भने, ‘लोकतान्त्रिक इतिहास बोकेको पार्टी व्यक्ति(केपी ओली)वादी पार्टी बनाउँदै लगेपश्चात् खुम्चिन थालेको छ । चुनाव नहुने, प्रतिस्पर्धा नगर्ने र माथिबाट लिस्ट पठाउने पार्टीमा किन आउने भनेर युवा पुस्ताले भन्न थालेका छन् ।’

पाण्डेले अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद (जबज) भने पनि त्यसलाई देशभर कसैले नचिन्ने बताए । उनले जबजको सही र एकरूप बुझाइको लागि दुई कार्यकाल र ७० वर्षे उमेरहद भने पनि लागू हुन नसकेको बताए ।

उनले भने, ‘स्वयं अध्यक्ष ओली जबज भन्नुहुन्छ । जबजको सही र एकरुप बुझाइका निमित्त दुई कार्यकाल र ७० वर्ष भनेका छौँ ।’

माथिबाट व्यक्ति छान्ने विधि जबजको नभएको उनको भनाई थियो । पाण्डेले एमालेको नेतृत्व परिवर्तन गर्ने यो उपयुक्त समय भएको बताए । उनले भने, ‘दुई वटा अवस्थामा नेतृत्व परिवर्तन हुन्छ एउटा हार र पराजय, अर्को जितिरहेका बेला नेतृत्व परिवर्तन हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *