कम्बोडियामाथि थाइसेनाको आक्रमण

बैंकक । थाइल्यान्डले सोमबार क्याम्बोडियामाथि हवाई आक्रमण सुरु गरेको थाइ सेनाले जनाएको छ । विवादित सीमाक्षेत्रमा फेरि हिंसा भड्किएसँगै दुबै पक्षले एक–अर्कालाई दोषारोपण गरेका छन् । भिडन्तमा एक थाइ सैनिकको मृत्यु भएको पुष्टि गरिएको छ ।

थाइ सेनाका प्रवक्ता विनथाई सुवारीका अनुसार उबोन रत्चाथानी प्रान्तमा सोमबार बिहान क्याम्बोडियाली फौजले थाइ सैनिकमाथि गोली प्रहार गरेपछि ‘एक सैनिकको मृत्यु र चार जना घाइते’ भएका छन्। उनका अनुसार आक्रमण रोक्न थाइल्यान्डले ‘कयौँ क्षेत्रमा सैन्य लक्ष्यमाथि हवाई हमला’ थालेको हो।

क्याम्बोडियाको रक्षा मन्त्रालयकी प्रवक्ता माली सोचेताले भने उल्टै थाइल्यान्डले नै प्रेह विहियर र ओदार मिचे प्रान्तमा क्याम्बोडियाली फौजमाथि आक्रमण सुरु गरेको आरोप लगाइन् ।

उनका अनुसार थाइ फौजले ‘टामोने थोम मन्दिर र प्रेह विहियर क्षेत्र नजिक ट्यांकबाट धेरै राउण्ड’ प्रहार गरेको छ। उनले क्याम्बोडियाले प्रत्याक्रमण नगरेको दाबी गरिन्।

ओदार मिचे प्रान्तीय प्रशासनका प्रवक्ता मेट मियस्फेक्डेले टामोने थोम र टा क्राबेई क्षेत्र नजिक गोलीबारी भएको पुष्टि गर्दै सीमावर्ती गाउँका बासिन्दा सुरक्षित स्थानतर्फ भागिरहेको बताए।

थाइल्यान्डका सेनाले जारी गरेको विज्ञप्तिअनुसार भिडन्तपछि करिब ३५ हजार थाइ नागरिकलाई सिमानाबाट सारिएको छ।

यसैवर्ष केही महिनाअघि पाँच दिनसम्म चलेको भिडन्तमा ४३ जनाको मृत्यु भएको र करिब ३ लाख मानिस विस्थापित भएका थिए। युद्धविराम लागू भएपछि स्थिति केही शान्त बनेको थियो तर ताजा घटनाले तनाव पुनः बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *