बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिलाई रुसले स्वागत गर्दै उक्त रणनीति मस्कोको दृष्टिकोणसँग ’लगभग मिल्दोजुल्दो’ रहेको बताएको छ ।
अमेरिकी प्रशासनले यसै साता सार्वजनिक गरेको ३३ पृष्ठको उक्त दस्तावेजले युरोपले उसको सभ्यतागत अस्तित्व नै मेटिने सङ्कट झेलिरहेको उल्लेख गरेको छ भने रुसलाई अमेरिकाको निम्ति खतरा ठानेको छैन ।
अमेरिकाको नयाँ सुरक्षा रणनीतिमा विदेशी प्रभावसँग जुझ्ने, आम आप्रवासनको अन्त्य गर्ने, तथा युरोपेली युनियनले अभ्यास गरेको भनिएको ‘सेन्सरशिप’ वा नियन्त्रणमुखी नीतिलाई अस्वीकार गर्ने जस्ता विषय परेका छन् ।
कैयन् युरोपेली अधिकारीहरू तथा विश्लेषकहरूले उक्त रणनीतिबारे आलोचना गर्दै त्यसमा प्रयोग गरिएको भाषा क्रेम्लिनको जस्तो समेत भनेका छन् । तर रुसी अधिकारीहरू भने खुसी देखिन्छन् । क्रेम्लिनका प्रवक्ता डिमित्री पेस्कोफले रुसी सरकारी सञ्चारमाध्यम तासमा आइतवार छापिएको उनको अन्तर्वार्तामा भनेका छन्, ‘हामीले देखेका परिवर्तनहरू…समग्रमा हाम्रो दृष्टिकोणसँग मिल्छ । हामी यसलाई सकारात्मक कदम मान्छौँ ।’
दस्तावेजमा रुसप्रति नरम भाषाको प्रयोग गरिएको छ। त्यसले आफूहरूले युक्रेन युद्ध अन्त्यका लागि मस्कोसँग राखिरहेका अडानहरू कमजोर गराउन सक्ने इयूका अधिकारीहरूको चिन्ता छ ।
इयूले उक्त युद्ध अन्त्य गराउने आफ्ना प्रयासहरूलाई निस्तेज गराइरहेको आरोप पनि सो दस्तावेजमा उल्लेख छ । अमेरिकाले ’रुससँग रणनीतिक स्थिरता पुनस्र्थापित गर्नु पर्ने’ ताकि ’युरोपेली अर्थतन्त्रहरू स्थिर रहने’ त्यसमा भनिएको छ।
