काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय संसद् महत्त्वपूर्ण र निर्णायक ठाउँ हो भन्ने पुष्टयाइ गर्न परिणाम निकाल्ने गरी कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।
उन्नाइसौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आइतबार आयोजित ‘उत्प्रेरित कर्मचारी: उत्कृष्ट संसद् सेवा’ विषयक कार्यक्रममा सभामुख घिमिरेले संसद् महत्त्वपूर्ण अङ्ग भए पनि त्यो कसरी चल्छ भन्ने चिन्ता र ध्यानाकर्षण गराउन नसकेको बताए ।
उनले भने, ‘कस्ता किसिमका निर्णय गर्दा सदनको गरिमा बढ्छ भन्नेबारे खुला बहस र छलफल हुनुपर्छ ।’
कर्मचारीका दायित्व, समस्या र हाम्रो संसद्को चरित्रबारे पनि गहन छलफलको आवश्यकतामा जोड दिँदै सभामुख घिमिरेले कर्मचारीलाई प्रभावकारी नबनाई यो प्रणालीलाई चुस्त तुल्याउन सकिदैन भने ।
संसद् सेवाका कर्मचारीको मनोबल उकास्नु पर्नेमा तजविजका आधारमा बजेट विनियोजन गर्ने परिपाटीले चुनौती खडा गरेको उल्लेख गर्दै उनले स्थायी सदनकारूपमा रहेको राष्ट्रियसभाको अधिवेशन बोलाउनका लागि वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।
सभामुख घिमिरेले भने, ‘अहिलेको विशिष्ट परिस्थितिबाट देशले छिट्टै राजनीतिक निकास पाउने विश्वास छ, देशको आवश्यकता अनुरूप सदन प्रभावकारी हुनेछ, आउने दिनमा अन्यौलता हट्नेछ । बनेका कानुन कार्यान्वयन गर्न सरकारलाई सहयोग गर्ने, बाध्य र विवश तुल्याउने तथा तर्जुमा गर्नु पर्ने कानुन पनि समयमै गर्न स्पष्ट दृष्टिकोण, आवश्यक कानुनी व्यवस्था गर्ने छ ।’
सो अवसरमा विषय विज्ञका रूपमा पूर्व सचिव राजन खनालले कर्मचारीलाई कार्य जिम्मेवारीले अनुभवी बनाउने भएकाले सबै सेवामा रहनेलाई वृत्ति विकासमा समान अवसर प्रदान गरिनु पर्ने आवश्यकतामा जोड दिए ।
उनले जनताले सेवा प्राप्तिमा परिवर्तन खोजेकाले कर्मचारीतन्त्र रूपान्तरण हुने पर्नेमा जोड दिए । पूर्व सचिव खनालले सेवा प्रवाहलाई विश्वमा विकास भइरहेको नवीनतम प्रणाली र उपकरणको माध्यमबाट गर्न सकिने बताए ।
अर्का विज्ञ जातीरमण भट्टराईले राष्ट्र सेवक कर्मचारी जागरुक र जिज्ञासु भएर राज्यबाट जनतालाई प्रदान गरिने सेवा सहज तुल्याउने गरी कार्य सम्पादन गर्न सुझाव दिए ।
मनो परामर्श विज्ञ डा खगेन्द्र सुवेदीले निश्चित सूचकका आधारमा आवधिक बढुवा प्रणालीलाई पारदर्शी तुल्याउँदै हरेक कर्मचारीलाई उत्तरदायी तुल्याउनु आजको आवश्यकता भएको बताए ।
सो अवसरमा संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र सचिव डा रोजनाथ पाण्डेले सहभागीको जिज्ञासा र संसद् सेवाका विविध पक्षबारे जानकारी दिए ।
