काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आजको विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम मात्र नभई यो नवप्रवर्तन, प्रविधि, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि भएको बताएका छन् ।
नेपाल एयर लाइन्सको क्याबिन क्रु एसोसिएसन (सि–क्यान)ले अन्तरराष्ट्रिय नागरिक उड्ड्यन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री सिन्हाले उडान अझ सुरक्षित, पर्यावरणमैत्री, समयमै, र यात्रु–अनुकूल हुनका लागि विश्वभरी निरन्तर नयाँ–नयाँ नवप्रवर्तन भइरहेका उल्लेख गरे ।
मन्त्री सिन्हाले भने, “स्मार्ट विमान, हरित इन्धन, कृत्रिम बौद्धिकतामा आधारित सेवा प्रणाली, डिजिटल चेक–इन र उन्नत सुरक्षा प्रक्रियामा नविनतम प्रविधिको विकास भएको छ । तर सबैको केन्द्रमा एउटा कुरा उही छ, मानवको भूमिका, विशेषगरी क्याबिन क्रूको योगदान छ ।”
उद्योग, वाणिज्य तथा आपूर्ति तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेका उनले नवप्रवर्तन कागजमा मात्र होइन, क्याविनभित्र जीवन्त बनाउनुपर्ने र यात्रुसम्म पुर्याउन क्याबिन क्रुको भूमिका रहने उल्लेख गरे ।
“तपाईंहरूको सीप, अनुकूलता, सिक्ने र बढ्ने तयारीकै कारण विमान विकास आजको अवस्थामा आउन सम्भव भएको हो । नवप्रवर्तनले उडानलाई आधुनिक बनाउँछ तर त्यसमा तपाईंहरूको मानवता, मुस्कान, सहानुभूति, धैर्यता भने सधै अपरिहार्य रहन्छ” मन्त्री सिन्हाले भने ।
नयाँ चुनौतीसँगै नयाँ समाधान, नयाँ प्रविधि, नयाँ प्रक्रिया पनि आउने उल्लेख गर्दै मन्त्री सिन्हाले क्याविन क्रुको पेशा यीनै परिवर्तनसँग घुलमिल भएर अघि बढ्ने पेशा भएको धारणा व्यक्त गरे । यात्रु उडानको क्रममा आउने मेडिकल इमरजेन्सी, अनियमित मौसम् र कहिलेकाही यात्रुको मनोदशामा क्याबिन क्रुको साहस, करुणा र अनुकूलताले नै संस्थाको पहिचान बनाउने उल्लेख गरे ।
