लिगचरणको अन्तिम खेलमा कर्णाली विजयी

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को लिगचरणको अन्तिम खेलमा कर्णाली याक्स विजयी भएको छ । आइतबार बेलुकी सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई तीन रनले हराउँदै कर्णालीले प्रतियोगितामा सुखद अन्त्य गरेको हो ।

जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २६ रनमात्र बनाउन सक्यो । जनकपुरको लागि सन्जय कृष्णमुर्थीले अर्धसतक बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ३९ बलमा ४ छक्का र एक चौकाको मद्दतमा ५१ रन बनाए । यस्तै संगीथ कोरीले २५, कप्तान लाफ्टी इटनले १३ र माज सादाकतले १२ रन बनाए ।

कर्णालीको लागि विलियम बोसिस्टोले दुई तथा मार्क वाट, पवन सर्राफ, नन्दन यादव र सोमपाल कामीले समान एक/एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय २९ रनको योगफल खडा गरेको थियो । कर्णालीका ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाए । यसक्रममा उनले समान एक चौका र छक्का प्रहार गरे । तेस्रो नम्बरमा ब्याटिङमा आएका गुल्सन झाले १९ रन बनाए । अविजित रहेका कप्तान सोमपाल कामीले १८ रन जोड्दा प्रियांक पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजीबुल्लाह जाड्रानले १३ रन बनाए ।

जनकपुरको लागि ललित राजवंशी र आदित्य महताले समान दुई/दुई विकेट लिँदा संगीथ कोरी, अनिल शाह र माज सादाकतले एक/एक विकेट लिए ।

जितसँगै कर्णाली ७ खेलबाट ४ अंक जोड्दै छैटौं स्थानमा रहँदा साविक विजेता जनकपुर बोल्ट्सले समान खेलबाट दुई अंक जोड्दै पुछारमा रहेर लिगको अन्त्य गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *