झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

झापा । यो वर्ष झापामा तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजार ३१५ दशमलव ९२ मेट्रिकटन बर्खे धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख सागर विष्टले गत वर्षको तुलनामा यो वर्ष धानखेतीको क्षेत्रफलसँगै उत्पादन घटेको बताउँदै उत्पादकत्व भने केही बढेको जानकारी दिए । उनका अनुसार गत वर्ष ७५ हजार ४५९ दशमलव १८ हेक्टर क्षत्रफलमा तीन लाख ८२ हजार ८११ दशमलव ९७ मेट्रिकटन धान उत्पादन भएको थियो । धानको उत्पादकत्व पाँच दशमलव शून्य ७३ रहेको थियो ।

बेमौसमी तथा अनियमित वर्षाका कारण धानखेतीको क्षेत्रफल गत वर्षको तुलनामा यो वर्ष दुई हजार ७१६ दशमलव ५३ हेक्टर घटेको प्रमुख विष्टले बताउँदै उत्पादकत्व बढेर पाँच दशमलव १९५ पुगेको जानकारी दिए ।

गत असोज र कात्तिकमा भएको बेमौसमी वर्षाका कारण जिल्लामा २३ हजार ५६४ दशमलव ३३ मेट्रिकटन धानमा क्षति पुगेको कार्यालयले जनाएको छ । उक्त क्षतिबाट अनुमानित ७८ करोड ११ लाख ५६ हजार रुपैयाँको क्षति भएको छ ।

किसानले समर्थन मूल्य पाएनन्

बेमौसमी वर्षाका कारण खेतीमा ठूलो क्षति व्यहोरेका किसान यतिबेला मूल्य नपाएर समस्यामा परेका छन् । सरकारले गत साउनमा बर्खे धानको न्यूनतम समर्थन मूल्य बढाएको थियो । मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ ।

केही वर्षअघिसम्म किसानले धान भित्र्याउन सुरू गर्दा पनि सरकारले न्यूनतम समर्थन मूल्य नतोक्दा किसान ठगिने समस्या रहेकामा पछिल्ला केही वर्षदेखि सरकारले मूल्य तोक्न थालेको छ ।

सरकारले समयमा धानको समर्थन मूल्य तोके पनि किसानले मूल्य नपाउने समस्या भने जस्ताकोतस्तै रहेको किसानको गुनासो छ । झापामा हाल किसानले मध्यम धान प्रतिक्विन्टल तीन हजार रुपैयाँ र मोटा धान दुई हजार ७५० रुपैयाँमा बिक्री गरिरहेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले भने, ‘किसानले सरकारले तोकेको मूल्य पाउन सकेका छैनन्, किसानको गुनासो आइरहेको छ ।’

भद्रपुरका किसान महरसिंह राजवंशीले अहिले प्रतिमन (४० केजी) धान एक हजार २०० रुपैयाँमा किनबेच भइरहेको जानकारी दिए । ‘धानको भाउ छैन’, उनले भने , ‘१२ सयमा कसरी बेच्नु ?’

‘धानको मूल्य बढ्छ’

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले हाल किसानले धानको समर्थन मूल्य नपाएको स्वीकार गरे । ‘अहिले प्रतिक्विन्टल तीन हजार १०० रुपैयाँमा मध्यम धान बिक्री भइरहेको छ’, उनले भने, ‘अब मूल्य समायोजन गरी बढ्ने छ ।’ सुरुसुरुमा धानमा चिस्यान बढी हुने भएकाले मूल्य कम भएको हुनसक्ने बताउँदै उनले धानको गुणस्तर राम्रो भएकाले मूल्य बढ्ने विश्वास व्यक्त गरे ।

धान खरिदका लागि तीन सहकारी सूचीकृत

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ झापाले धान खरिदका लागि सहकारी संस्थालाई सूचीकृत हुन आह्वान गरेपछि तीन सहकारी सूचीकृत भएका छन् । जिल्लामा कृषि सहकारी, कृषि समूह धेरै भए पनि तीन वटा मात्र सहकारी सूचीकृत भएका हुन् ।

सरकारले तोकेको मूल्यमा किसानको धान सहकारीले खरिद गरेर किसानको खातामा रकम जम्मा गरेमा व्यवस्थापन खर्चबापत प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान दिने व्यवस्था रहेको एकाइका प्रमुख सुवेदीले जानकारी दिए ।

अधिकांश रञ्जित र सर्ना धानखेती

हाल बजारमा चामलमा ‘जिरा मसिनो’ ब्रान्ड जस्तै भए पनि किसानले नेपालमा यस्तो धानखेती कम मात्र गर्ने प्रमुख सुवेदीले बताए । नेपालमा उत्पादित बहुगुणी–२, तरहरा–१, सानो मन्सुली सव–१ लगायत धान ‘जिरा मसिनो’ ब्रान्डमै जाने उनको भनाइ छ । झापा, मोरङ, सुनसरीलगायत पूर्वी क्षेत्रका अधिकांश किसानले रञ्जित र सर्ना धानखेती गर्ने गरेका उनले बताए ।

‘किसानलाई ब्राण्ड चलेको धानको खेती गर्न प्रोत्साहन गर्ने कोसिस गरिरहेका छौँ’, सुवेदीले भने, ‘तर, किसान रञ्जित र सर्ना धानप्रति बढी आकर्षित छन् ।’ उत्पादनका हिसाबले रञ्जित र सर्ना धानभन्दा बहुगुणी–२, तरहरा–१, सानो मन्सुली सव–१ धान बढी फल्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *