काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै पाँच जना पूर्वमन्त्रीविरुद्ध मुद्दा चलाउने भएको छ ।
आयोगले करिब ८ अर्ब रुपैयाँ बिगो कायम गरी पाँच पूर्वमन्त्रीविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गर्न लागेको हो । आयोगले पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी, डा. रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागेको हो ।
त्यस्तै यस प्रकरणमा अख्तियारले १० जना पूर्वसचिवविरुद्धसमेत मुद्दा दर्ता गर्दैछ । पोखरा विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले गत वैशाखमा अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
उपसमितिले विमानस्थल निर्माणमा करिब १० अर्ब भ्रष्टाचार भएको प्रतिवेदन समितिलाई बुझाएको थियो ।
