कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु

सिरहा । १४ वर्षदेखि अधुरो निर्माणाधीन हुलाकी सडकअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुल निर्माणका लागि स्थानीयले चन्दा उठाउने अभियान सुरु गरेका छन् ।

आज कमला पुलमा उपस्थित भई अभियानका अगुवाहरूले अभियान औपचारिक रूपमा सुरुआत गरेका सामाजिक अभियन्ता तथा पत्रकार रामरिझन यादवले जानकारी दिए । “यहाँ १४ वर्षअघि काम सुरु भए पनि पटकपटक म्याद थपिँदै आएको छ । विसं २०७८ असार १७ मा बाढीले पुलका दुई पिलर भासिएपछि थप समस्या भएको छ । पुल नबन्दा मधेशका लाखौँ नागरिकको यात्रा, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक गतिविधिमा गम्भीर असर पारेको छ”, उनले भने ।

अभियन्ता यादवले सरकारले १४ वर्षमा पनि पुल बनाउन नसकेपछि अब जनता आफैँले पुल बनाउनुपर्ने अवस्था आएको भन्दै प्रतिकात्मक आन्दोलन सुरु गरिएको बताए । पटक–पटक सरकारको ढोका ढक्ढकाउँदा पनि काम नभएपछि केही दिनअघि पुल निरीक्षणका लागि आएका भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई जानकारी गराएरै अभियान सुरु गरिएको उनको भनाइ छ ।

मन्त्री घिसिङले प्राथमिकतामा राखेर जसरी पनि पुल बनाइने प्रतिबद्धता व्यक्त गरे पनि ढुक्क हुने अवस्था नरहेको अभियन्ताहरूको भनाइ छ । त्यसैले कमला पुल निर्माणमा करिब रु दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकाले धनुषा, सिरहा र सप्तरीका बासिन्दाबाट चन्दा सङ्कलन गरेर सरकारलाई सहयोग गर्ने योजना रहेको बताइएको छ ।

यस अभियानका लागि प्रतिपरिवार रु १० हजारका दरले चन्दा सङ्कलन, विष्णु महायज्ञ र अभियानलाई प्रशासनमा दर्ता गराएर आउने अनुदान रकम सरकारकै कोषमा जम्मा गर्न लगाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *