मध्य म्यानमारमा भएको हवाई आक्रमणमा १८ जनाको मृत्यु

तबाइन, म्यानमार । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा अठार जनाको मृत्यु भएको एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ताले बताएका छन् । घटनाको स्थानीय बासिन्दाले पनि पुष्टि गरेका छन् ।

सन् २०२१ मा सेनाले सैन्य ‘कु’ मार्फत् सत्ता कब्जा गरेदेखि म्यानमार गृहयुद्धले थिलथिलो भएको छ र यसको अनेकौँ ‘कु’ विरोधी लडाकुहरूसँगको लडाँइका क्रममा बारम्बार हवाई हमला भइरहेका छन् । सरकारी सेनाले गरेका यस्ता आक्रमणमा प्रायः सर्वसाधारणको मृत्यु हुने गरेको छ ।

एक स्थानीय प्रशासनिक अधिकारीका अनुसार शुक्रबार साँझ सागाइङ क्षेत्रको तबाइन नगरमा दुईवटा बम खसालिएका थियो, जसमध्ये एउटा भीडभाड भएको चिया पसलमा लागेको थियो ।

उनले एएफपीसँग भने, “आक्रमणमा १८ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन् ।”

“चिया पसलमा भीडभाड भएको समयमा आक्रमण भएकाले त्यहाँ धेरैको मृत्यु भयो,” उनले भने । एएफपीसँग सूचनाका लागि बोलेका सबै स्रोतहरूले आफ्नो सुरक्षाका लागि नाम नखुलाउन अनुरोध गरेका छन् ।

आक्रमण भएको १५ मिनेटपछि घटनास्थलमा पुगेका एक उद्धारकर्ताले भने, “आक्रमणका कारण सात जनाको घटनास्थलमै र अन्य ११ जनाको पछि अस्पतालमा मृत्यु भएको थियो ।”

उनले भने, “म्यानमारमा चिया पसललाई एक परम्परागत सामाजिक केन्द्रका रूपमा भेला हुने थलो र चिया पिउने स्थानका रूपमा लिइन्छ । आक्रमणबाट चिया पसल र नजिकैका करिब एक दर्जन घरहरूमा क्षति पुगेको छ।”

हवाई आक्रमण समय घटनास्थलमा नै रहेका तर बाँच्न सफल एक व्यक्तिले बम विस्फोट हुँदा उनी चिया पसलमा टेलिभिजनमा बक्सिङ खेल हेरिरहेका थिए।

“मैले हवाईजहाज माथिबाट उडेको सुनेँको लगत्तै म भुइँमा लडेँ,” उनले भने ।

“विस्फोटको आवाज कान नै बहिरो पार्ने खालको निकै चर्को थियो,तर मलाई थाहा छैन म कसरी बाँच्न सफल भएँ,” उनले भने ।

उनले भने, “मैले मेरो टाउकोमाथि ठूलो आगोको लप्को देखेँ । तुरून्तै ठूलो आवाजसहित विस्फोट भयो । म होसमा आउँदा वरपर धेरै रगत देखिन्थ्यो । मैले धेरै मानिसहरूको मृत्यु भएको जानकारी पाएँ । म भने भाग्यमानी थिएँ, म त्यसपछि घर फर्किएँ।”

म्यान्मामा सेनाप्रति बफादार जुन्टा सरकारका एक प्रवक्तासँग यस बिषयमा कुरा गर्ने एएफपीको प्रयास सफल हुन नसकेको एएफपीका संवाददाताले जानकारी दिएका छन् ।

स्थानीय एक बासिन्दाले भने, “विनाशकारी भूकम्प गएपछि घोषणा गरिएको कथित युद्धविरामका बाबजुद मे महिनामा सागाइङमा भएको जुन्टाको हवाई हमलामा मारिएकाहरूको शनिबार अन्त्येष्टि गरिएको छ। यसमा केही पीडितहरूको अनुहार छेदविच्छेद् अवस्थामा देखिन्थ्यो ।

“मलाई धेरै दुःख लागेको छ किनभने म तिनीहरूमध्ये केहीलाई राम्ररी चिन्थें,” उनले भने ।

म्यानमारमा विनाशकारी भूकम्प गएपछि कथित युद्धविरामको घोषणा गरिएपनि मे महिनामा सागाइङमा भएको सैन्य शासकको हवाई हमलामा २० बालबालिकासहित २२ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *