–नारायण पौडेल
राजालाई पप्लु औंधी मन पर्थ्यो । अनेक थरी फलफूल बगैंचाको बीचमा रहेको घरको बरण्डा पप्लुको बाह्रमासे अखडा हुन्थ्यो । सो घरको बेग्लै पहिचान थियो । कोठार भनेपछि टाढा टाढासम्म चिनिन्थ्यो । पप्लु, कलब्रेक, किट्टी अन्तपनि खेलिन्थ्यो । तर, कोठारमा राजासँग बसेर खेल्नुको मजा बेग्लै हुन्थ्यो । त्यसमाथि मङ्ग बसाउने शहरीया मसलासहितको दुधैदूधको बाक्लो चिया सुरुप्प पार्दै, ताजै टिपेका फलफूल कर्याप कर्याप खाँदै राजाका रोचक गफ सुन्दै तास फिट्नुको आनन्द अन्त हुँदैनथ्यो ।
राजाले तास खेल्न निम्त्याउनु एक किसिमले हैसियत बन्नुजस्तो थियो । घरको काम सकिवरी वा थाति राखिवरी भद्रभलाद्मी कोठारमा हाजिर हुन्थे । राजा देशदेशावरका रोचक प्रसंग निकाल्थे । काठमाडौं, नेपालगञ्जलगायतका शहरमा उनका घर थिए । तर, उनी बर्दियाको गाउँमा रमाउँथे । मृदुभाषी उनी सान–राजाका रुपमा मान्य थिए । कोठार र उनको खेतबारीको रेखदेखका लागि दर्जनौं कमैया÷किसान तैनाथ रहन्थे ।
रानी आफ्नै दुनियाँमा हुन्थिन् । पूजापाठ र फूसवारीको रेखदेखमा उनको लगाव थियो । उनले एउटा सुगा पालेकी थिइन् । नयाँ कसैलाई देखे सुगा प्रश्न गथ्र्यो– किन आको ? आगन्तुक फिस्स हाँस्थे । रानी यदाकदा माथिबाटै जवाफ दिन्थिन्– तास खेल्न ! एकदिन पानी दर्किरहेको थियो । गाउँलेलाई कामको चापाचाप थियो । राजालाई खेल्ने सकसक लागिरह्यो । राजाका भित्रियामार्फत भद्रभलाद्मी कहाँ खबर पुग्यो । माठो माठो कोरम पुगि त गो । पानी दर्किएकाले सो दिन खाल बरण्डाबाट माथिको कोठामा सरेको थियो । सो कोठाबाट परैसम्म राजाको खेत छर्लङ्गै देखिन्थ्यो । साँझपख खेल बिट मार्दै गर्दा राजाले प्रश्न गरे– यो गाउँमा सबैभन्दा खुशी को ?
अकस्मात राजाबाट अनौठो प्रश्न सुनेर खालवालाहरु अक्क न वक्क भए । सबैले जवाफ दिए–राजा जत्तिको खुशी अरु हुन सक्ने कुरै भएन ! जवाफ सुनेर राजा खुशी देखिएनन् । उनले नाई जनाउन मुण्टो हल्लाए । एक छिन सन्नाटा छायो । मौनता तोड्दै राजाले बगैंचाको बीचमा रहेको धारातिर देखाउँदै भने– हाम्रो गाउँको सबैभन्दा खुशी व्यक्ति अग्नु हो ।
अग्नु र कोठार पर्यायवाचीजस्ता थिए । अग्नु कोठारमा कमैया बसेको जुग बितिसकेको थियो । आफ्नै कमैयालाई राजाले गाउँभरमा खुशी किन देखे ? राजाभन्दा खुशी अग्नु कसरी भयो ? कौतुहलता स्वभाविक थियो । अग्नु र उसकी श्रीमती एकअर्कालाई पानी छ्यापाछ्याप गर्दैथिए । उनीहरु हिलो पखाल्दै एकअर्कासँग खेल्दै थिए । राजा एकतमासले धारातिर हेरिरहे । मौनता तोड्दै उनले सुइइअ सुस्केरा हाले । दृढनिश्चयी भावमा दोहोर्याए –हो, अग्नु सबैभन्दा खुशी व्यक्ति हो । तपाईंहरुले मलाई खुशी देख्नुभो । मसँग भौतिक सम्पत्ति बढी छ भनेर होला । तर सम्पत्ति हुँदैमा नहुने रहेछ, राती औषधि नखाइ निन्द्रा पर्दैन । केही खायो सन्चो हुँदैन । उनीसँग मन खोलेर कुरा हुँदैन । उनी आफ्नै धुनमा, म मेरै धुनमा । हामी यसरी खेली बसेको उनलाई मन परेको छैन । नखेली मेरो मन मान्दैन । अग्नु र उस्की बुढी सँगै खेतमा जान्छन् । काम गर्छन् । एक अर्कावाई धोइ पखाली गर्छन् । गगन थर्काउने गरी हास्छन् । अघाउञ्जी खान्छन् । सुर्तारहित निन्द्रा निधाउँछन् । संसारमा सन्तोष नै परम सुख हो । ऊ मेरो कमैया भएपनि सन्तोष र खुशीमा म भन्दा सम्पन्न छ । मालिक भएपनि सुख र सन्तोषका हिसाबले उ भन्दा म गरिब छु । साच्चै भन्ने हो भने म उसको निष्फिक्री खुशी हेर्दै आनन्द लिन्छु । आज पहिलो पटक तपाईँहरुलाई भन्दैछु ।
अबेर गरी राजासँग छुट्टिएका भद्रभलाद्मीलाई राजाको प्रश्नले घोचिरह्यो । राजा बितेर गए । गाउँघरका राजा–रजौटादेखि देशकै राजापनि गद्दीच्युत गरिए । तर सानराजाले सोधेको जवाफ आजपर्यन्त भेटिएको छैन । उनीहरुको दोधार मेटिएको छैन–खुशी नहुने भएसी राजाजस्तो भरिपूर्ण किन हुनु ? खुशी भइन्छ भन्दैमा अग्नु कसरी हुन सक्नु ?
