हुँदैन युद्ध र प्रेममा सबै कुरा जायज

-डा. रामकृष्ण तिमल्सेना ।

‘Everything is fair in love and war’ भन्ने उक्ति सुन्दा सुरुमा एक किसिमको गहिरो भावनाले भरिएको वाक्य जस्तो लाग्छ, तर यसको गहिरो दार्शनिक परीक्षण गर्दा यो अत्यन्तै जोखिमपूर्ण, भ्रामक र मानव सभ्यताको नैतिक संरचनासँग पूर्णतः असंगत देखिन्छ। प्रेम र युद्ध दुवै मानव अनुभवका चरम रूपहरू हुन्, तर यिनलाई नैतिक नियमविहीन बनाउन खोजिएको यो दाबी मानव जीवनको सबैभन्दा मौलिक मूल्यहरूको खण्डन हो। पूर्वीय दर्शनमा प्रेमलाई सत्य, दया, करुणा र संयमले पोषण गर्ने आत्मिक यात्रा मानिन्छ। उपनिषद्, गीता, बौद्ध दर्शन र कन्फ्युसियस सबैले प्रेमलाई दायित्व, सहानुभूति र सत्यलाई केन्द्रमा राखेर व्याख्या गर्छन्। छल, धोका, हिंसा वा स्वार्थलाई प्रेमको अभिन्न हिस्सा ठान्नु पूर्वीय परम्पराले कहिल्यै स्वीकार्दैन। प्रेम आत्मालाई उन्नत बनाउने अभ्यास हो र त्यसमा बेइमानी, प्रतिस्पर्धा वा चालाकी छिरेको क्षणमा त्यो केवल वासना, अभिमान वा निराशाको झुटो मुखौटा बन्न पुग्छ।

युद्धलाई पनि प्राचीन सभ्यताले कहिल्यै अनियन्त्रित हिंसा र अराजकतामा छोडेका छैनन्। महाभारतमा युद्धलाई धर्मसँग बाँधेर निश्चित सीमाभित्र राखिएको छ। शत्रु जित्नुभन्दा ठूलो कुरा युद्धमा मानवीयता बचाउनु हो भन्ने शिक्षा यस महाकाव्यले निरन्तर दिँदै आएको छ। सूर्यास्तपछि युद्ध नहुने, शरण पर्नेलाई नछुने, निर्बलमाथि युद्ध नगर्ने, मृत शरीरमाथि प्रहार नगर्ने र नागरिकलाई चोट नपुर्याउने नियमहरूले महाभारतले युद्धलाई पनि मर्यादामा राखेको देखिन्छ। यी मर्यादाहरू भङ्ग हुँदा नै कुरुक्षेत्र युद्धका सबैभन्दा गम्भीर नैतिक पतनका क्षण जन्मन पुगे। यसले सिकाउँछ कि युद्धमा नैतिकता सकियो भने विजय पनि अपराध हुन्छ र विजेता पनि सधैं पछुताउने पात्र बन्छ।

पश्चिमी दर्शनमा पनि युद्ध र प्रेम दुवैलाई नियम र नैतिक विचारबाट मुक्त गरिएको छैन। युद्धको सन्दर्भमा अगस्टाइन र थमस आक्विनासले निर्माण गरेको न्यायपूर्ण युद्धको सिद्धान्तले युद्ध केवल न्यायको रक्षा, शान्तिको पुनःस्थापना र अनिवार्य परिस्थितिमा मात्र स्वीकार्य हुन्छ भन्छ। साधनको सीमा, उद्देश्यको शुद्धता र हानिको आनुपातिकता तिनका मुख्य आधार हुन्। यदि युद्धमा सचेत सीमाहरू आवश्यक हुदैनथ्यो भने आधुनिक इतिहासले देखाएको जस्तो व्यापक युद्ध अपराध र नरसंहार रोक्ने कुनै व्यवस्था बनाउने खाँचो नै पर्दैनथ्यो। यही कारण द्वितीय विश्वयुद्धपछि जेनेभा सम्मेलन जन्मियो र विश्वभर युद्ध अपराधलाई अन्तर्राष्ट्रिय कानूनी ढाँचामा बाँधियो। यसले स्पष्ट संकेत गर्छ कि युद्धमा सबै कुरा होइन, केवल केही आवश्यक र नियंत्रित क्रियाकलाप मात्र मानव सभ्यताको मापदण्ड अनुसार स्वीकार्य हुन्छ।

प्रेमको प्रसङ्गमा पश्चिमी दार्शनिकहरू पनि समान रूपमा कठोर छन्। कान्टले प्रेमलाई कर्तव्य र आत्मसम्मानको आधारमा अडिएको पारस्परिक सम्मानको सम्बन्ध मानेका छन्। उनले अर्को व्यक्तिलाई साधनको रूपमा होइन, लक्ष्यको रूपमा हेर्नुपर्छ भनेका छन्। यो दृष्टिले प्रेममा बेइमानी, धोका वा हिंसालाई उचित ठहर्याउन दिने कुनै ठाउँ राख्दैन। कीर्केगार्डले प्रेमलाई आत्मिक यात्राको रूप दिन्छन् जहाँ प्रामाणिकता र बलिदान बिना प्रेम अपूर्ण हुन्छ। सिमोन दे बेउवोआरले प्रेमलाई समानता, स्वतन्त्रता र व्यक्तिगत गरिमाको आधारमा पुनःव्याख्या गरेकि छिन्। यी सबै दृष्टिहरूले हामीलाई एउटै निष्कर्षमा पुर्याउँछन् कि प्रेम पनि नैतिक दायित्वविहीन स्वतन्त्रता होइन, जिम्मेवारीले भरिएको मानव सम्बन्धको सबैभन्दा संवेदनशील रूप हो।

शेक्सपीयरका नाटकहरूले पनि प्रेम र युद्ध दुवैमा नैतिकता भंग हुन्छ भने विनाश अवस्य हुन्छ भन्ने चित्रण गरेका छन्। ओथेलोको प्रेम ईर्ष्याबाट अन्धो भएपछि हत्या र पश्चातापमा पुग्छ। रोमीओ र जुलियटमा परिवारिक विभाजनको युद्ध जस्तै वैमनस्यले निर्दोष प्रेमीहरूको ज्यान लिन्छ। म्याकबेथमा सत्ता प्राप्तिको हिंसात्मक लालसाले आत्मा नै सिद्धिन थाल्छ। शेक्सपीयरले स्पष्ट देखाएका छन् कि प्रेममा वा युद्धमा नैतिकता हरायो भने परिणाम सधैं त्रासदी नै हुन्छ।

यसरी हेर्दा प्रेम करुणाको क्षेत्र हो र युद्ध न्यायको क्षेत्र हो। करुणा र न्याय दुवैको आफ्नै सीमा, मापदण्ड र नियम हुन्छन्। प्रेमलाई छलकपटले विषाक्त बनाउँछ भने युद्धलाई मर्यादाहीनताले नरसंहारमा बदलिदिन्छ। त्यसैले प्रेम र युद्ध दुवैमा नैतिकता हटाउन खोज्नु मानव सभ्यताका मूल मूल्यहरूको अस्वीकार जस्तै हो। यो उक्ति लोकप्रिय हुन सक्छ तर दार्शनिक सत्य होइन। सत्य त यो हो कि प्रेम र युद्ध दुबैमा मानवता सधैं पहरेदारको रूपमा बसिरहन्छ। जुनक्षणमा मानवता हट्छ, त्यस क्षण प्रेमको सौन्दर्य र युद्धको औचित्य दुवै नष्ट हुन्छन्। यसैले प्रेम र युद्धमा सबै कुरा कहिल्यै जायज हुँदैन।

महाभारत, ग्रीक ट्रोजन युद्ध र आधुनिक जेनेभा सम्मेलनका नैतिक पाठ :

मानव इतिहासमा युद्धका असंख्य कथा छन्, तर ती सबै कथा समान महत्त्वका छैनन्। केही युद्धहरूले सभ्यतालाई नष्ट गरे, केहीले सभ्यतालाई पुनःनिर्माण गरे, र केहीले मानवले हिंसा बीच पनि नैतिकता खोज्न सक्छ भन्ने अनुपम प्रमाण बने। महाभारतको धर्मयुद्ध, ग्रीक सभ्यताको ट्रोजन युद्ध, र आधुनिक जेनेभा सम्मेलनद्वारा स्थापित युद्ध नैतिकता यिनै तीन परम्पराहरू हुन्, जसले युद्धलाई केवल शक्ति प्रदर्शनको साधन होइन, सभ्यताको आत्मपरिक्षण गर्ने दर्पण बनाएका छन्। यी तीनै परम्परा एकअर्काबाट भिन्न छन्, तर ती सबैमा एउटा साझा संरचना छ, त्यो हो युद्धमा पनि अनिवार्य रूपमा हुनैपर्ने मानवीय मर्यादाको रक्षा।
महाभारतमा वर्णित कुरुक्षेत्र केवल युद्ध थिएन, त्यो समयको नैतिक, दार्शनिक र सांस्कृतिक मूल्यहरूको गहिरो परीक्षण थियो। शत्रु पराजित गर्ने उद्देश्य भए पनि युद्धलाई मर्यादाभित्र राख्ने अनेक नियम छन्। सूर्यास्तपछि युद्ध रोकिन्थ्यो, शरणागतलाई छुन पाइँदैनथ्यो, निर्बलमाथि युद्ध गर्न निषेध थियो, मृत शरीरमाथि प्रहार वर्जित थियो। पाण्डव र कौरव दुवैले कतिपय क्षणमा ती नियम तोडे पनि त्यस उल्लंघनले नै महाभारतमा सबैभन्दा ठूलो नैतिक द्वन्द्व जन्मिएको देखिन्छ। भीष्म, विदुर, अर्जुन, युधिष्ठिर सबैले युद्धलाई नियममा बाँध्न निरन्तर प्रयास गरे, किनकि उनीहरूले बुझेका थिए कि युद्धमा आचरण पालन भएन भने विजय पनि अपराध बन्न सक्छ। महाभारतले युद्धको सिद्धान्त मात्र दिएन, युद्धको मनोविज्ञान, युद्धको नैतिकता र युद्धको परिणाम सँगसँगै के कस्तो मानवीय क्षतिले सभ्यतालाई मर्माहत बनाउँछ भन्ने गम्भीर दीक्षा दियो।

ग्रीक सभ्यतामा ट्रोजन युद्ध एक अलग प्रकारको ऐतिहासिक तथा साहित्यिक प्रतिबिम्ब हो। होमरको इलियडले युद्धलाई केवल विनाशको कथा बनाएन, त्यो वीरता, व्यक्तित्व, सम्मान र नैतिकताको संघर्ष बनेर चित्रित भयो। एकातिर अचिलिसको रोष, अर्कोतिर हेक्टरको कर्तव्यनिष्ठा, तेस्रो तिर प्रियामको करुणा, यी सबै पात्रहरू युद्धमा मानवीयता कसरी जीवित रहन्छ भन्ने गहिरो प्रश्न उठाउँछन्। अचिलिसले हेक्टरलाई मारेपछि क्रोधले अन्धो भएर युद्धको आदर्श तोड्छ, तर प्रियाम आफ्नो मृत छोराको शरीर माग्न आएको क्षण युद्धको क्रूरता भित्र पनि गर्न सकिने करुणाको सर्वश्रेष्ठ उदाहरण बनेर प्रकट हुन्छ। ग्रीक परम्पराले युद्धलाई एकदमै स्पष्ट सन्देश दिएको छ कि युद्धमा वीरता हुनु आवश्यक छ तर वीरता केवल बलमा होइन, आत्मसंयम र मानवता जोगाउने क्षमतामा पनि निहित हुन्छ।

आधुनिक युगमा भने युद्धको नैतिकता धार्मिक वा साहित्यिक संदर्भमा मात्र सीमित रहेन। दुईवटा विश्वयुद्ध र तिनबाट उत्पन्न विनाशले मानव सभ्यतालाई यस्तो भविष्यको डरले हल्लायो कि युद्धको अत्यधिक क्रूरता अब रोक्नैपर्ने अनिवार्य सत्य बन्यो। त्यसकै परिणामस्वरूप जेनेभा सम्मेलन जन्मियो, जसले युद्धमा पनि मानवअधिकारको न्यूनतम र अपरिवर्तनीय सिद्धान्त स्थापित गरिदियो। नागरिक र सैनिकको फरक पहिचान भएन भने युद्ध अपराध ठहरिन्छ, बन्धकलाई यातना दिन पाइँदैन, अस्पताल, निस्शस्त्र व्यक्ति, बालबालिका र वृद्धहरूलाई लक्षित आक्रमण निषेध हुन्छ, बन्दी सैनिकहरूलाई यातना दिनु अपराध हुन्छ। यसरी युद्धलाई अन्तर्राष्ट्रिय कानूनी संरचनाले बाँधेर सभ्यताले एक ऐतिहासिक उपलब्धि हासिल गर्‍यो। आधुनिक अन्तर्राष्ट्रिय फौजदारी अदालत, शान्ति मिशन, युद्ध अपराधको सजाय, यी सबै जेनेभा सम्मेलनको विस्तार हुन्।

यी तीनै युद्ध परम्पराको तुलनाले एउटा गहिरो सत्य उजागर गर्छ कि युद्ध मानव समाजको उत्पत्ति भन्दा पुरानो छ, तर युद्धका नियम सभ्यताको विकाससँगै विस्तारित र परिशोधित हुँदै आएका छन्। महाभारतले नैतिकता सिकायो, ट्रोजन युद्धले मानवता देखायो, आधुनिक युगले कानूनी संरचना निर्माण गर्‍यो। तिनको अन्तर फरक छ तर लक्ष्य एउटै देखिन्छ त्यो हो युद्धले पनि मानिस बन्ने अवसर हराउन नपाओस्। मानवीयता हरायो भने युद्ध केवल क्रूरता बन्न पुग्छ, मानवीयता जोगियो भने युद्धबाट पनि नैतिकता र न्याय जन्मिन सक्छ।

प्रेममा सत्यको अनिवार्यता : पूर्वीय र पश्चिमी परम्पराको तुलनात्मक दृष्टि

प्रेमलाई मानव जीवनको सबैभन्दा निर्मल भावना भनिन्छ, तर त्यो निर्मलता केवल भावनाले होइन, सत्यले कायम राख्दछ। सत्यविहीन प्रेम समयसँगै न त टिकाउ रहन्छ, न नै आत्मिक उचाइमा पुग्न सक्छ। प्रेमको मूल तत्व करुणा हो, करुणाको मूल तत्व विश्वास हो, र विश्वासको आधार सत्य हो। पूर्वीय दर्शनदेखि पश्चिमी नैतिक परम्परासम्म सबैले प्रेममा सत्यको भूमिका अपरिहार्य मानेका छन्। प्रेम कुनै क्षणिक भावनाको विस्फोट मात्र होइन, त्यो चेतनाको परिष्कार हो, आत्माको गहिरो अभ्यास हो, जहाँ छलकपट, दोमनस्य, हिंसा वा स्वार्थले प्रवेश गर्ने बित्तिकै प्रेमको पवित्रता भत्किन्छ।

पूर्वीय परम्परामा प्रेमलाई आत्मिक उन्नतिको स्वरूपमा व्याख्या गरिन्छ। उपनिषद्का शिक्षाहरू प्रेमलाई सत्य र आत्मसाक्षात्कारसँग जोड्छन्। सत्यविना गरिएको प्रेम केवल संयोग हो, त्यो आध्यात्मिक अर्थमा प्रेम कहलिँदैन भन्ने त्यसको मूल शिक्षा हो। भगवद्गीताले प्रेमको स्वरूपमै भक्तिको चर्चा गर्दा पूर्ण समर्पण र सत्यनिष्ठालाई मुख्य शर्त तोकेको छ। कृष्ण र राधाको प्रेम साहित्य वा अध्यात्म दुवैमा सत्यको स्थिर प्रतिकको रूपमा देखिएको छ। बौद्ध दर्शनमा त मिथ्यावचन प्रेमको प्रतिपक्ष नै मानिन्छ। एक व्यक्तिले अर्कोप्रति गरेको दया, करुणा र मैत्री केवल भावना होइन, सत्यमा आधारित नैतिक अभ्यास हो। सत्यविना प्रेम केवल मनोवैज्ञानिक निर्भरता हुन्छ, दार्शनिक प्रेम हुँदैन। यी सबै पूर्वीय दृष्टान्तहरूले एकै कुरा सिकाउँछन् कि प्रेम आत्मालाई उच्च बनाउने यात्रा हो र आत्मा केवल सत्यप्रति निष्ठाबाटै निर्मल रहन्छ।

पश्चिमी परम्परामा पनि प्रेम र सत्य अविच्छिन्न रूपमा जोडिएका छन्। कान्टले मानव सम्बन्धमा पारस्परिक सम्मानको आधार सत्यलाई बनाउँछन्। उनलाई प्रेम भनेको अर्को व्यक्तिलाई आफ्नो स्वार्थ पूर्ति गर्ने उपभोक्ताको रूपमा होइन, सम्पूर्ण मानव गरिमासहितको अस्तित्वका रूपमा हेर्ने अभ्यास हो। यस्तो दृष्टि केवल सत्यबाटै सम्भव छ। किर्केगार्डले प्रेमलाई अस्तित्वगत जोखिमको नाम दिएका छन्, जहाँ व्यक्तिले आफ्नो असहायता, निस्वार्थता र गहिरो आत्मदर्शन सत्यतापूर्वक अँगाल्नुपर्छ। यदि कसैले आफ्नै आत्मालाई ढुङ्गा जस्तै बनायो र सत्यबाट टाढा रह्यो भने उसले प्रेमको अस्तित्वगत अर्थ बुझ्ने सामर्थ्य गुमाउँछ। सिमोन दे बेउवोआरले प्रेमलाई बराबरीको सम्बन्धको रूपमा हेर्छिन् जहाँ छल, नियन्त्रण, विषमता वा आधिपत्य कुनै पनि रूपले प्रेमको नैतिक संरचना भत्काउँछ। उनी भन्छिन् कि असमानता वढेको क्षणमा प्रेम विघटन हुन्छ किनकि सत्यविना समानता टिक्दै टिक्दैन।

साहित्यिक दृष्टिमा पनि सत्य नै प्रेमको आधार हो। शेक्सपीयरको रोमीओ र जुलियट सत्यप्रति निष्ठाका कारण अमर छन्, जबकि ओथेलो र डेस्डेमोनाको कथा ईर्ष्या र असत्यले प्रेमलाई कसरी हत्यामा परिणत गर्छ भन्ने दुखान्त रूप हो। असत्यको एक सानो छायाले प्रेमको विशाल पर्वतलाई कसरी ढालिदिन्छ भन्ने कुरा शेक्सपीयरले बारम्बार देखाएका छन्। सत्य नहुँदा प्रेम आत्मीयताको रूपमा होइन, संशयको अँध्यारोमा डुब्ने सम्बन्धको रूपमा चित्रित हुन्छ।

वास्तविक जीवनका मनोवैज्ञानिक अध्ययनहरूले पनि यही कुरा पुष्टि गर्छन्। प्रेम सम्बन्धमा स्थिरता र दीर्घकालीन सामञ्जस्यको आधार सत्य र पारदर्शिता नै हो। मनोविश्लेषक जॉन बोल्बीले व्यक्तिलाई सुरक्षित भावनात्मक बन्धन चाहिन्छ भन्छन् र त्यो बन्धन केवल सत्य र पारदर्शिताबाटै उत्पन्न हुन्छ। सम्बन्धमा झूट, धोका र छलले लगाउने मनोवैज्ञानिक चोट प्रायः युद्धको क्षतिसरह विनाशकारी हुन्छ।

पूर्वीय आध्यात्मिकता, पश्चिमी दर्शन, साहित्यिक चेतना र आधुनिक मनोविज्ञान सबैले एउटै निष्कर्ष निकाल्छन् कि सत्यविनाको नाम मात्रको प्रेम हो। तथ्य, पारदर्शिता, आत्मस्वीकार, प्रतिबद्धता, निष्ठा यी तत्वहरू बिना प्रेम केवल भ्रम रहन्छ। प्रेम कुनै खेल होइन, कुनै बाजीगरको जुक्ति होइन, कुनै क्षणिक आवेग होइन। प्रेम आत्माको उज्यालो हो र त्यो उज्यालो केवल सत्यले नै जलाइराख्न सक्छ। प्रेममा सत्य अनिवार्य हुनुको मूल कारण यही हो कि प्रेम आत्मिक उचाइमा बग्ने नदी हो। सत्य त्यो नदीको किनार हो। किनार भत्कियो भने नदी बग्दैन, डुबान वन्छ। सत्य भत्कियो भने प्रेम रहदैन वरु भासिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *