काठमाडौं । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) को प्लेअफमा पुगेको छ । शुक्रबार बेलुकी सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको हो ।
जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा ६ विकेटको क्षतिमा १ सय ३६ रन बनाउँदै जित निकालेको हो । लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाउँदा डार्सी शर्टले ३०, जेजे स्मितले २१, निर्दोष डिकवेलाले १७ र दिलिप नाथले १५ रन बनाए ।
जनकपुरको लागि संगिथ कोरीले तीन, मयान यादवले दुई र सन्जय कृष्णमुर्थीले एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो । जनकपुरको लागि संगिथ कोरीले ४५ रन बनाउँदा मायन यादवले २७, आसिफ शेखले २०, संजय कृष्णमुर्थीले १४ र शुभ कंसकरले ११ रन बनाए ।
लुम्बिनीको लागि शेर मल्ल र रोहित पौडेलले दुई/दुई विकेट लिँदा जेजे स्मित र रुबिन ट्रम्पेल्मनले समान एक/एक विकेट लिए ।
जितसँगै लुम्बिनी ७ खेलबाट ८ अंक जोड्दै चौथो स्थानमा रहेर प्लेअफमा पुगेको छ । पराजित जनकपुर ६ खेलबाट २ अंक जोड्दै सातौं स्थानमा रहेको छ । लुम्बिनीको जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्स प्रतियोगिताबाट बाहिरिएका छन् ।
