काठमाडौं । नागरिक समाजका अगुवाहरुले राज्य कमजोर बनेको बेलामा क्षमता बाहिरको माग राखेर सरकारलाई कमजोर नबनाउन आग्रह गरेका छन् ।
नागरिक अगुवाहरुले एक विज्ञप्ति जारी निहित राजनीतिक, समुहगत वा व्यक्तिगत एजेण्डा अघि सारेर अवरोध गर्ने र अनावश्यक भ्रम छर्ने तथा आशंका फैलाउने गतिविधिहरूले राष्ट्रलाई कमजोर नबनाउन आग्रह गरेका हुन् ।
यस्तो छ विज्ञप्तिनागरिक समाजको साझा सार्वजनिक अपिल
वि. सं. २०८२ मंसिर १८
गत भदौ २३ र २४ को जेन्जी (नवयुवा) आन्दोलन पछि देश एक संवेदनशील एवं जटिल मोडमा उभिएको छ। यस गम्भीर चुनौतीबाट मुलुकलाई स्थिरता र लयमा फर्काउने जिम्मेवारी नेपाल सरकार, राजनीतिक दल, नवयुवा समेत हामी प्रत्येक नागरिकको पनि हो।
राज्य कमजोर बनेको यो संवेदनशील घडीमा, निर्वाचनको म्याण्डेट लिएर बनेको सरकारमाथि उसको म्याण्डेट र क्षमताभन्दा बाहिरका माग राख्ने, निहित राजनीतिक, समुहगत वा व्यक्तिगत एजेण्डा अघि सारेर अवरोध गर्ने र अनावश्यक भ्रम छर्ने तथा आशंका फैलाउने गतिविधिहरूले राष्ट्रलाई झनै कमजोर बनाउने निश्चित छ।
हामी सबैले गम्भीरतापूर्वक सोच्नुपर्छ यदि यो सरकार असफल भयो र निर्धारित मितिमा निर्वाचन हुन सकेन भने त्यसपछि उत्पन्न हुने रिक्तता र अनिश्चितताको अवस्था देशका लागि कति गम्भीर र दुरगामी हुन सक्छ ।
तसर्थ, नेपालको संबिधान र यसबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै जेन्जी (नवयुवा) आन्दोलनको तारो बनेको भ्रष्टाचार, नातावाद, कृपावाद, कुशासन जस्ता देशका दुस्मन प्रवृत्तिको अन्त्य गर्दै मुलुकलाइ असल शासनको बाटोमा लैजान र राष्ट्रलाइ थप अप्ठेरोमा नपारी सबैको अर्जुनदृष्टि २०८२ फागुन २१ गते हुने आम निर्वाचनमा केन्द्रित गर्न हामी आव्हान गर्दछौं। निर्वाचनका माध्यमबाट मात्रै संवैधानिक प्रक्रिया जीवन्त रहने र राजनीतिक दलहरूले अर्थपूर्ण गति पाउने बाटो निर्विघ्न रहन्छ।
यो निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार र निर्वाचन आयोगसंग हामी विशेष आग्रह गर्दछौं । सफल निर्वाचनमै यो सरकारको औचित्य पुष्टि हुने सत्यतालाई मनन गर्दै सरकारको प्रयास र कामकारवाही त्यसमै केन्द्रित होस् र बन्दै गएको निर्वाचन वातावरणलाई प्रतिकुल असर पार्न सक्ने कुनै कार्य नहोस् भनी हामी खबरदारी समेत गर्दछौं।
हामी आम नागरिक, राजनीतिक शक्ति, नागरिक समाज, सञ्चार माध्यम, जेनजी (नवयुवा) वर्ग, विभिन्न पेसाकर्मी तथा सबै जिम्मेवार पक्षहरुसंग — देशको स्थिरतासंग जोडिएको २०८२ फागुन २१ गतेको निर्वाचनलाई सफल, स्वच्छ र निष्पक्ष बनाउनका लागि सहयोगी भुमिका निर्वाह गर्न अपिल गर्दछौँ ।
