-डा. युवराज संग्रौला ।
जेनजी आन्दोलन, अन्तरनिहित कारण र बेसरोकार राजनीति आज पनि तेस्रो आँखाको कुरा गर्छु । जेनजी आन्दोलन भयो । दुनियाँ भन्दै थियो, अब सत्य युग आउँछ। तर खोइ त परिवर्तन ? उल्टै ‘हतार हतार एउटा निर्वाचन आउँदैछ।’ यो निर्वाचनमा कसैको सक्रिय चाख छ भने ‘त्यो जेनजीको होइन, हिजो जागिरमा नेताको चाकरी गर्ने कर्मचारी र पुलिसको।’ क्या गजब छ, ‘पेन्सन पनि खाएकै छ। घरमा सरकारको तलब खाने प्रहरी भान्से पनि राखेकै छ। अब चुनाव लड्न पनि पाएकै छ।’ क्या गजबको परिवर्तन आयो । वाह ! किनभयो जेनजी आन्दोलन भन्ने कुराको छलफल राज्यमा कतै भएन । जेनजी सिंहदरबार कुद्छन, जेनजीका पछि ‘वैकल्पिक पार्टी बनाउने कलाकार, पूर्वकर्मचारी, पूर्वसेना, पुलिस र अभियन्ताहरु कुदिरहेछन् । जेनजी आन्दोलन पछिको राजनीति त यही हो । कोसँग छ, नेपालले भोगिरहेका तलका समस्याको समाधान ?
१. सार्वजनिक बहस गर्नु आवश्यक छ । जेनजी आन्दोलनका केही अन्तरनिहित कारण खोजौं । २०४८ सालपछि ‘अलीअली भएका उद्योग पनि बन्द गर्दै नवउदारवाद आयो । यसले विगत ३७ वर्षमा भएका थोरै उद्योगपतिलाई पनि ‘कमिसन व्यापारी बनायो।’ रोजगारविहीन आर्थिक वृद्धिलाई प्रोत्साहित गर्यो । पैसाको लगानी गरि वस्तु उत्पादन गर्ने र मुनाफा गर्ने होइन पैसाको उत्पादन गर्न मात्र पैसा लगानी गर्ने सेयर मार्केट, जग्गा प्लटिङ्ग, आदि जस्ता उद्यममा अर्थतन्त्र लिप्त भयो । राज्यलाई विदेशी मुद्राको चिन्ता भएन किनकी रेमिट्यान्सबाट उसको समस्या समाधान भयो, परिणास्वरुप घनघोर उपभोक्तावाद मौलायो । बैंक धनी भए । आज निर्माणका काम सुस्त छन्, उद्योग खोल्न कानुनी झन्झट छ, खुलेका पनि कसले संरक्षण गरिदिने? वित्तीय पुँजीवादले प्रतिव्यक्ति आय १५०० डलर पुग्यो र आर्थिक वृद्धि दर सकारात्मक त रह्यो । तर दुर्भाग्य ‘उद्योग विनाश गर्ने यस उदारवाद (jobless neoliberalism with de–industrialization) निसन्तान बाबुआमा जस्तै बाँझो छ । यसले रोजगारीको अवसर निर्माण गरेन । युवाहरू बेरोजगार भए । यसले युवा पलायन र श्रम पलायनको बाध्यता एउटा जटिल समस्या जन्मायो । गठबन्धनबाट सत्तादोहन गर्न पल्किएका नेताले केही भएन, पाएनन्, समाजभित्र के पाक्दै थियो । यही रोजगारहीन नवउदारवाद जसले औद्योगिक विकास र उत्पादनका सम्भावना निषेध गर्यो, जेनजी आन्दोलनको अन्तर्निहित कारण थियो । यसका अपराधी विगतमा शासन गर्ने दलहरू थिए । अब अहिले पुरानो फुटेर नयाँ दल बनेका ‘नयाँ बोतलका पुराना रक्सीहरु, नयाँ नामधारी एकतावाला र अध्यक्षका पदमा भिडन्त गर्नेहरु र विकल्पका मसिहाहरु भन्नुहोस् त ‘रोजगारीहीन आर्थिक गतिविधिमा सीमित अर्थतन्त्र’ लाई कसरी सम्बोधन गर्नुहुन्छ ? र, जेनजीलाई रोजगारी दिने उद्योग कहाँबाट ल्याउनु हुन्छ ? आशा खुव देखाउनु भएको छ भ्रष्टाचार रोक्ने तर ‘उत्पादनहीन समाजमा, उद्योगहीन समाजमा पैसाले पैसा उत्पादन गर्दै बस्तु उत्पादन निषेध गर्ने अर्थतन्त्रबाट रोजगारी कसरी निर्माण गर्नुहुन्छ ? अब अर्को आन्दोलनमा घर जल्ने प्रतिक्षामा रहनुहोस् । त्यसैले जेनजीलाई मैले पटक पटक भनें ‘व्यक्तिका पछाडि होइन विचार खोज्नुहोस् जसले समस्याको समाधान निकाल्छ।’ जेनजी आन्दोलनको मुख्य अन्तर्निहित कारण रोजगारीविहीन आर्थिक वृद्धिदरमा सीमित अर्थतन्त्र हो।
२. अर्को समस्या छ । विदेश जानु दुब्र्यसन जस्तै भैसक्यो । देश ‘रेमिट्यान्स चंगुल’ मा डुबेको छ । मानिसले पठाएको रमिट्यान्सको ९४% उपभोगमा सकिन्छ। सरकार विदेशी मुद्राका लागि श्रम निर्यात गर्ने अपराध गरिरहेको छ । नेपाली युवा श्रम विदेशमा दुरुपयोग भैरहेको छ। अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली युवाको माग छ। देशमा उत्पादन गर्ने आदत क्षय भएको छ। भएका उद्योगमा पनि आगो लगाइन्छ। यसको पछाडिको कारण झन् बढी मानिसलाई बेरोजगार बनाउनु थियो, ताकी अझ बढी मानिस विदेश पलायन हुन् । यो रमिट्यान्सको चंगुल कसरी सम्बोधन गर्नुहुन्छ ? जेनजी मित्रहरू नयाँ राजनीतिक नेतालाई यो प्रश्न सोध्नुहोस् ।
३. अर्को पनि समस्या छ । हामी भूराजनीतिको चंगुलमा छौँ र यो जटिल हुँदैछ । भारत र चीनको १०० बिलियन डलरको व्यापार छ । भारतमा चीनको लगानी बढ्दै छ । भारत चीनबाट असुरक्षा ठान्दैन । तर भारत ‘नेपालमा चीनको लगानीमा उत्पादन भएको विजुली किन्दैन। उज्यालो दलका नेता भन्छन्, हामी विजुली बेचेर धनी हुन्छौं।’ तर गाउँमा एकफेजको लाइन मात्र छ। एउटा मोटर पनि घुम्दैन । विजुली भारतलाई बेचेर धनी हुने हो, वा गाउँ गाउँमा उर्जा पुर्याएर मानिसलाई उत्पादनमा सरिक गर्ने हो ? जेनजी साथी हो यसबारेमा सोच्नु भयो ? यो भूराजनीतिक चंगुल कसरी सम्बोधन गर्ने होला ? आगामी चुनावले यी समस्या सम्बोधन गर्ने नेताको छनौट गर्ला ? गरोस् कामना छ । तर चिन्ता के हो भने जेनजी यी समस्यामा छलफल गर्ने सक्रियता देखाइरहेका छैनन् । देशले अर्को भयानक विद्रोह झेल्नु पर्ने चुनौती देख्छु ।
