एमालेमा फेरि ओली नै किन ?

-ऋषि कट्टेल ।

एमालेबारे लेख्न थाल्दा धेरैलाई यो कुरा थाहा नहुन सक्दछ की म पहिले एमालेमा थिएँ । किनकी मैले एमालेवाट विद्रोह गरेको २८ वर्ष पुग्न लाग्दैछ । म एमालेको संस्थापक सदस्य मध्येको एक सदस्यमात्र थिइन माक्र्सवादी माले बीच एकता गराउनेमा सक्रिय पनि थिएँ । मैले एमालेवाट विद्रोह गर्नुको दुई मुख्यकारण थिए । पहिलो जवज नामको कार्यक्रममार्फत पुँजीवादमा आत्मसमर्पण र दोस्रो देशघाति महाकाली सन्धी । सारमा एमाले कम्युनिष्ट पनि रहेन देशभक्त पनि रहेन । त्यसकारण मैले विद्रोह गरें । मेरो अरु कुनै व्यक्तिगत लाभको कुरा थिएन । बरु मलाई एमालेले दिनुपर्ने सबैकुरा दिएकै थियो । सायद यसैले होला एमालेमा मलाई सम्मान गर्ने, सद्भाव राख्ने, एमालेमा फर्कन आग्रह गर्ने, सहयोग गर्ने धेरै मित्रहरु छन् । त्यसैले होला एमालेमा हुने कुनै पनि घटना मैले सहजै थाहा पनि पाउँछु र कतिपय साथीहरु त सल्लाह नै माग्नु हुन्छ ।

आजको प्रसंग भने एमाले महाधिवेशनको । केहीदिनअघि एउटा अन्तरक्रियामा भागलिन म विराटनगर गएको थिएँ । मोरङ जिल्ला समिति र विराटनगर महानगर दुबैमा ओली विरोधीहरुको बहुमत रहेछ । पूर्वका ८ जिल्लामा बहुमत रहेको दाबी सुनाए । सत्तामा रहेकाहरु भने सबैजसो ओली पक्षका रहेछन् । दुबैपक्षसँग कुराकानी भयो ।

काठमाडौंको एक कार्यक्रममा एमालेका एक वरिष्ठ नेतासँग भेट भयो । ओलीको विकल्प खोज्ने प्रयास भएको कुरा चल्यो । मैले उहाँलाई सोझै भने विद्या, ईश्वर चरित्र र क्षमता दुबै कुराले ओलीका विकल्प हुन सक्दैनन् । तपाईँ आफैं वा सुरेन्द्र पाण्डे वा नयाँपुस्तावाट खोज्दा राम्रो हुने सल्लाह दिएँ । उहाँले खासै प्रतिक्रिया जनाउनु भएन । त्यही कार्यक्रममा एकजना जुझारु महिला नेतृ भेट हुनुभयो । मैले उहाँलाई सोझै प्रश्न गरें तपाईँ कुन पक्षको ? उहाँले पनि सोझै उत्तर दिनुभयो म नेतृत्व बदल्न पर्छ भन्ने पक्षको हो । शंकर योगेशहरु आउनु पर्यो । ईश्वर पोखरेललाई भने उहाँले ठाडै नकार्नु भयो र भन्नुभयो यदि ईश्वर आए ओलीले दुई तिहाई भन्दा धेरै भोटले जित्दछन् ।

यो लेख किन लेख्नुपर्यो भने एकजना मित्रले त राय नै माग्नुभयो । मैले उहाँलाई आफ्नो सैद्धान्तिक कुरा दोहर्याए । पछिल्ला दिनहरुमा ओलीले गरेका ४ वटा काम १) नाकाबन्दीको सामना २) चीनसँग गरेको व्यापार पारवाहन सन्धी ३) चुच्चे नक्सा निर्माण र ४) बीआरआईमा सहमति भने देशहितमा छन् । अब यो महाधिवेशनवाट महाकाली सन्धी र एमसीसी खारेजीको निर्णय गराउनु भयो भने एमाले देशघातीको कलंकवाट बाहिर आउनेछ । अहिले ओलीलाई जसरी र जुनशक्तिले सत्ताबाट खेदेको छ । त्यसको प्रतिरोध बेगर एमाले अब रहँदैन । त्यही कोणवाट सोच्दा राम्रो हुने सल्लाह दिएँ । उहाँले मेरो सल्लाह कसरी बुझ्नु भयो थाहा भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *