मेरो उम्मेदवारी अध्यक्ष र महासचिव बाहेकमा हुन्छः उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको ११औं महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने विश्वास व्यक्त गरेका छन् ।

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा बुधबार प्रेस चौतारी नेपालले गरेको सञ्चारकर्मीसँगको सम्वाद कार्यक्रममा उनले प्रश्न गरे, ‘तपाईंहरूलाई यो ध्रुव मङ्सिर २९ गतेसम्म जान्छ जस्तो लाग्छ ?’ एमालेको आन्तरिक जीवन कुनै समस्यामा नरहेको उनले स्पष्ट पारे ।

‘हामी सहज ढङ्गले अगाडि बढ्न सक्ने ठाउँमा छौँ, एमालेभित्र जुन ध्रुव देखिएको छ, के तपाईंहरूलाई लाग्छ यो मङ्सिर २९ गतेसम्म रहला ? मङ्सिर २९ अघि नै यो समाप्त हुन्छ, कुनै ध्रुव रहँदैन’, उपाध्यक्ष पौडेलले भने ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा फेरि पनि नेकपा (एमाले) अघि बढ्ने स्पष्ट पारे । उपाध्यक्ष पौडेलले भने, ‘अध्यक्ष ओलीको नेतृत्वको वरिपरि गोलबद्ध भएर पार्टीलाई एकताबद्ध बनाएर जाऊँ भन्ने भन्दा नमान्नु पर्ने कुनै विषय देख्दिन, यो सम्भव नै छैन भन्ने पनि मलाई लाग्दैन, प्रतिस्पर्धा भए पनि प्रतिस्पर्धा हुन्छ, नतिजा आउँछ, त्यसलाई मानेर अघि बढ्नुपर्छ ।’

एमालेलाई निरङ्कुश छ भन्ने भ्रम फिँजाउने प्रयास भइरहेको तर एमाले आन्तरिक लोकतन्त्रको च्याम्पियन पार्टी भएको उनको भनाई थियो । एमालेले लिने नीति देशको नीति बन्ने उनको भनाइ छ ।

महाधिवेशनमा सहभागी हुँदा आफू एमालेको सदस्य मात्र हुने बताउँदै उपाध्यक्ष पौडेलले आफू लाखौँ कार्यकर्ता जस्तै कार्यकर्ता भएको स्पष्ट पारे । ‘मेरो स्थान के भन्दा पनि पार्टीको स्थान के भनेर सोच्नुपर्छ, मेरो ठाउँ के भनेर ङार्रङुर्र गर्नुपर्दैन, हजार जना कार्यकर्ताभित्र परिहाल्छु, त्यही बसेर काम गर्दा हुन्छ, केही फरक पर्दैन’, उनले भने ।

आजसम्म पार्टीमा पाएको जिम्मेवारी मागेर नलिएको स्पष्ट गर्दै उपाध्यक्ष पौडेलले भने, ‘पार्टीले उचित जिम्मेवारी दिन्छ, मैले के पाउँछु भनेर आजसम्म सोचेको छैन, म महासचिवको उम्मेदवार होइन, म यस अघि नै महासचिव भएर काम गरिसकेको मान्छे हुँ, ११औँ महाधिवेशनमा मेरो उम्मेदवारी हुन्छ तर अध्यक्ष महासचिव बाहेकमा हुन्छ, मैले अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गरिसकेको छु, महासचिव पहिला नै भइसकेको छु, त्यसैले काहीँ न काहीँ उम्मेदवारी त हुन्छ तर त्यो पछि नै तय हुन्छ ।’

नेकपा (एमाले) विरुद्ध चौतर्फी घेराबन्दी भइरहेको तर ती घेराबन्दी गर्नेलाई जनताले घेराबन्दी गर्ने विश्वास उनले व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *