काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले अब देशको नेतृत्व गर्ने बताएका छन् ।
बुधबार पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले आफूलाई अप्ठ्यारोमा देशले खोजी गर्ने बताएका हुन् । उनले ‘विद्युत् प्राधिकरणमा आएर लोडसेडिङ अन्त्य गर्ने मौका पाएको र अब देशकै नेतृत्व गर्नुपर्छ भन्ने लागेको बताए ।
उनले भने, ‘संस्थाभित्र क्राइसिस आउँदा मेरो खोजी भएको छ । मेरो उपस्थितिले चिलिमे, विद्युत् प्राधिकरणदेखि मन्त्रीसम्म देशले खोज्यो । विद्युत् प्राधिकरणमा आएर लोडसेडिङ अन्त्य गर्ने मौका पाएँ । चार महिना बाँकी हुँदा निकालियो । त्यहीबेला सरकारलाई धन्यवाद दिएको थिएँ । मन्त्री बने मलाई अवसर नै आयो । यहाँबाट हिँडेपछि अब देशकै लिड गर्नुपर्छ जस्तो लागेको छ ।’
घिसिङले आफू जनताको मायाले मात्रै टिकेको बताए । उनले वैकल्पिक शक्तिहरु एक ठाउँमा आउनै पर्ने बताए । उनले भने, ‘अवसर र चुनौती आएका बेला भाग्ने हो भने फेरि पनि परिवर्तन आउँदैन । देश भित्र रहेका र बाहिर रहेका सबै एक मत भएर एकजुट भएर लागौँ भन्ने मेरो आह्वान हो ।’
उनले देश विकासका निम्ति विचारभन्दा नेतृत्व महत्वपूर्ण कुरा भएको बताए । ७५ वर्षमा अनेकपटक विचार र प्रणालीहरू परिवर्तन भएपनि देशमा आर्थिक विकास हुन नसकेको भन्दै उनले सही व्यक्तिको छनोट नहुँदा देश बन्न नसकेको बताए ।
उनले २००७ आसपासको समयमा नेपालसँगै भारत र चीनमा राजनीतिक परिवर्तन भएको भन्दै ७५ वर्षमा उनीहरूले निकै ठूलो आर्थिक विकास गरेको बताए ।
