काठमाडौं । एडम रोसिङटनले सतक प्रहार गरेपछि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको हो । मंगलबार बेलुकी सम्पन्न खेलमा कर्णाली याक्सलाई ३४ रनले हराउँदै पोखराले प्लेअफको सम्भावनालाई जीवित राखेको हो ।
जितको लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा समेटिएको हो । कर्णालीको लागि ओपनर मार्क वाटले सतक बनाउँदा अन्य ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन् । वाटले ३४ बलमा ५ छक्का र ४ चौकाको मद्दतमा ५९ रन बनाए । कर्णालीको लागि नाजिबुल्लाह जद्रनले २४, पवन सर्राफले १९, प्रियांक पंचलले १६, कप्तान सोमपाल कामीले १३ र दिपेन्द्र रावतले १० रनको योगदान गरे ।
पोखराको लागि धनन्जय लक्षण र ऋषि धवनले समान तीन तीन विकेट लिँदा किरण ठगुन्ना, कुशल भुर्तेल र सन्दीप क्षेत्रीको नाममा एक/एक विकेट रह्यो ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । पोखराको लागि ओपनर एडम रोसिङटनले टी-२० मा पहिलो सतक पूरा गरेका हुन् । उनी ५८ बलमा ११ चौका र ७ छक्काको मद्दतमा १ सय ८ रन बनाउँदै नटआउट रहे । यस्तै डेब्यु खेल खेलेका जेसन रोएले ४६, धनन्जय लक्षणले नटआउट २३ र कप्तान कुशल भुर्तेलले १८ रन बनाए ।
कर्णालीको लागि नन्दन यादव र मार्क वाटले समान एक/एक विकेट लिए ।
जितसँगै पोखरा ४ खेलबाट ४ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ भने एक खेल बढी खेल्दै दुई अंक जोडेको कर्णाली सातौँ स्थानमा झरेको छ ।
