भदौ २३ गतेलाई ‘जेनजी’ सहिद दिवसको रूपमा मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवारका सदस्यहरूलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमती, अविवाहित छोरी/छोरालाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले आगामी माघ १ गतेदेखि एकपटकमा रु पाँच लाख वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने निर्णय पनि गरेको छ । यसैगरी श्रीलङ्कामा भीषण बाढीपहिरोले क्षति गरेकाले नेपाल सरकारले सहायतास्वरुप दुई लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले बताए ।

यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा ज्ञानबहादुर थापा, प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ । कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि गरिएको छ ।

राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा वैकुण्ठप्रसाद अर्याललाई बढुवा गरिएको छ । मन्त्रिपरिषद्का अन्य निर्णय मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने पनि मन्त्री खरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *