काठमाडौं । नेपाल एसीसी यु-१९ प्रिमियर कपको फाइनल खेलमा पराजित भएको छ । सोमबार भएको फाइनल खेलमा युएईसँग २७ रनले पराजित हुँदै नेपाल उपविजेतामा सिमित बनेको हो ।
जितको लागि १ सय ४९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपाल ३३.२ ओभरमा अलआउट हुँदै १ सय २० रनमा समेटिएको हो । खेलमा खराब शुरुवात गरेको नेपालले १६ रन जोड्दा ४ विकेट गुमाएको थियो । त्यसपछि कप्तान आशिक धामी र आशिष लुहारले पाँचौ विकेटको लागि ४४ रनको साझेदारी गर्दै टोलीको इनिंस उकास्ने प्रयास गरेपनि पर्याप्त रहेन ।
अशोकले ६६ बलमा ४ चौकाको मद्दतमा ३४ र आशिष लुहारले २५ रन बनाए । यस्तै रोशन विश्वकर्माले २५ र भान्श क्षेत्रीले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
युएईको लागि युग जे शर्मा र अलि अस्गर शुम्सले तीन/तीन विकेट लिँदा उद्धिश सुरी र नोरुल्लाह अयोबीले दुई/दुई विकेट हात पारे ।
यसअघि अजमानस्थित कार्वान मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले ४५.५ ओभरमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो । युएईको लागि अहमद खुदाददले अर्धसतक बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । खुदाददले १ सय २६ बल खेल्दै ६ चौकाको मद्दतमा ७१ रन बनाएका हुन् । यस्तै नोरुल्लाह अयोबीले २६ र आयान निस्बाहले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
युएईलाई सस्तैमा रोक्न नेपालको लागि दयानन्द मण्डलले ६.५ ओभरमा १७ रन दिएर ६ विकेट लिँदा अप्रजित पौडेलले दुई तथा नितेश कुमार पटेल र अशोक धामीले एक/एक विकेट लिए ।
हारका बाबजुत नेपाल एसीसी यु-१९ एसिया कपमा छनोट भइसकेको छ ।
