काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाउने भएको हो । व्यक्तिगत ओभरड्राफ्टको सीमा ५० लाख रुपैयाँसम्म रहेकोमा त्यसलाई बढाएर १ करोड रुपैयाँ बनाउने मौद्रिक नीति समीक्षामा उल्लेख छ ।
यस्तै लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा पनि बढाइएको छ । हाल ७ लाख रुपैयाँसम्म रहेको यस्तो सीमा वृद्धि गरी १५ लाख रुपैयाँ पुर्याउने भएको हो । त्यस्तै, लघुवित्तबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था गर्ने घोषणा मौद्रिक नीति समीक्षाले गरेको छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाले देशभरका महानगरपालिकाभित्र रहेका बैंक शाखाहरु एकीकरण वा समायोजन गर्न सक्ने भएका छन् । केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
विद्युतीय कारोबार बढ्दै गएकोले महानगर क्षेत्रमा धेरै शाखा रहेका बैंकहरुले नजिकको शाखा एक आपसमा एकीकरण वा समायोजन गर्ने बाटो केन्द्रीय बैंकले खोलिदिएको हो । त्यसको लागि बैंक तथा वित्तीय संस्थाले नै निर्णय गर्नसक्ने उल्लेख छ ।









