सोमबार पेरिसमा जेलेन्स्की–म्याक्रोन भेट हुने

पेरिस। रुस–युक्रेन युद्धको शान्ति सम्झौताका लागि चलिरहेको कूटनीतिक प्रयास तीव्र भएसँगै फ्रान्सले सोमबार युक्रेनी राष्ट्रपति भ्लोदिमर जेलेन्स्कीलाई पेरिसमा स्वागत गर्न तयारी पूरा गरेको छ।

फ्रान्स २४ का अनुसार राष्ट्रपति जेलेन्स्की फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेट गर्दै युद्धपछिको सबैभन्दा कठिन राजनीतिक तथा सैन्य परिस्थितिमा रहेको युक्रेनका चुनौतीबारे गम्भीर छलफल गर्ने कार्यक्रम छ।

शनिबार फ्रान्सेली राष्ट्रपति कार्यालय (एलिसी) का एक अधिकारीले म्याक्रोन र जेलेन्स्कीबीच ‘न्यायपूर्ण र स्थायी शान्तिका लागि आवश्यक सर्तहरू’ बारे गहन विचार–विमर्श हुने जानकारी दिएका थिए।

अमेरिकामा युक्रेनका लागि तयार गरिएको शान्ति योजनाबारे छलफल गर्न एक उच्चस्तरीय युक्रेनी प्रतिनिधिमण्डल प्रस्थान गर्ने तयारीमा रहेका बेला यो भेटवार्ता तय गरिएको हो।

यसैबिच, युक्रेनमा प्रमुख राजनीतिक हलचल सिर्जना भएको छ। राष्ट्रपति जेलेन्स्कीका निकट सहयोगी तथा अत्यन्त प्रभावशाली राजनीतिक हर्ताकर्ता मानिने राष्ट्रपतिको चिफ अफ स्टाफ एन्ड्री यर्माकले भ्रष्टाचारविरोधी निकायहरूले उनको निवासमा छापा मारेको केही घण्टामै राजीनामा दिएका छन्। किएभले अमेरिकाको दबाबका बिच रूससँग शान्ति सम्झौता स्वीकार गर्नुपर्ने अवस्था झन् जटिल बन्दै गइरहेको छ।

अधिकारीहरूका अनुसार यर्माकलाई प्रायः युक्रेनको दोस्रो सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा हेरिन्छ। हालै जेनेभामा अमेरिकी प्रतिनिधिसँग भएको वार्तामा उनले युक्रेनी टोलीको नेतृत्व गरेका थिए। तर शुक्रबार राष्ट्रपति जेलेन्स्कीले दैनिक टेलिभिजन सम्बोधनमार्फत यर्माकको राजीनामा घोषणा गरेपछि महत्त्वपूर्ण शान्ति वार्ताको पूर्वसन्ध्यामा किएभको राजनैतिक स्थिति थप अस्थिर बनेको छ।

राष्ट्रपति जेलेन्स्कीले भने, “आज कसैलाई युक्रेनबारे प्रश्न गर्न दिन चाहन्नँ। त्यसैले केही आन्तरिक निर्णयहरू गरेका छौँ। पहिलो, राष्ट्रपतिको कार्यालयमा रिबुट हुनेछ। कार्यालय प्रमुख एन्ड्री यर्माकले राजीनामा पत्र बुझाउनुभएको छ।”

यर्माकले भने तत्काल सार्वजनिक प्रतिक्रिया दिएनन्। छापा चलिरहेको पुष्टि गर्दै उनले टेलिग्राममार्फत अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जानकारी दिए।

युक्रेनको प्रमुख भ्रष्टाचारविरोधी संस्था राष्ट्रिय भ्रष्टाचार विरोधी ब्युरो (एनएबियु) र विशेष भ्रष्टाचार विरोधी अभियोजक कार्यालय (एसएपिओ) दुवै छापामा संलग्न थिए। दुई हप्ताअघि यी निकायले युक्रेनको ऊर्जा पूर्वाधारमा भएको भनिएको ठूला किकब्याक योजनाबारे व्यापक अनुसन्धान सुरु गरेको घोषणा गरेका थिए। यही अनुसन्धानकै बीचमा छापा मारेको बताइन्छ।

यस घोटालाले युक्रेनी सरकारका दुई मन्त्री पदमुक्त भएका छन् र राष्ट्रपति जेलेन्स्कीको मनोरञ्जन उद्योगमा कार्यरत पूर्व व्यापारिक सहकर्मी पनि यसको चपेटामा परेका छन्। तर यर्माकको हालैको महत्त्वपू्र्ण उन्नति र वार्ता टोलीमा प्रमुख भूमिकाका कारण यो विकास राष्ट्रपति जेलेन्स्कीका लागि असाधारण रूपमा असहज परिदृश्य बनेको छ।

आगामी केही दिनमै अमेरिकी पक्षसँग शान्ति वार्ताको अर्को चरण हुने अनुमान छ । तर यर्माकको स्थान कसले लिनेछ भन्ने प्रश्न अझै अनिश्चित छ। सिएनएनका अनुसार, राष्ट्रपति जेलेन्स्कीले शनिबारै चिफ अफ स्टाफका सम्भावित उत्तराधिकारीहरूसँग छलफल सुरु गर्ने तयारी रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *