काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा दिएको अभिव्यक्तिको आशय गलत नभएको बताएकी छन् ।
अभिव्यक्तिलाई लिएर आलोचना भएपछि प्रधानमन्त्री कार्कीले त्यस विषयमा स्पष्टीकरण दिएकी छन् । आइतबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले सबै धर्म वा समुदायप्रति आफ्नो उत्तिकै सम्मान रहेको बताएकी हुन्।
उनले भनेकी छन्, ‘लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन् । कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन । सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ।’
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभराम्भ कार्यक्रममा मंसिर ९ गते प्रधानमन्त्रीले मुसलमानहरूको प्रवृत्ति–व्यवहार हेर्दा अन्यायपूर्ण रहेको बताएकी थिइन् ।
उनले भनेकी थिइन्, ‘मुसलमानहरुको प्रवृत्ति यति अन्यायपूर्ण देखिन्छ–जिउँदै लगेर महिलालाई गाड्ने, तान्ने, कतिपय मुस्लिम देशमा महिलालाई आजादी नदिने, पढ्न नदिने पनि देखिएको छ । कतिमा उद्धार पनि छ । पहिलेको अरेबियनकालका मुस्लिम देशहरू हेर्नुहुन्छ भने सुडान इजिप्टमा महिलाहरू डाक्टर भएका पनि छन्, महिलाहरू सम्पत्तिमा बलिया । हिन्दू धर्ममा पनि त्यही भन्छ । पहिले एकदमै आजादी थियो ।’ प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई लिएर उनको आलोचना भएको थियो ।
