पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा यःमरी महोत्सव सम्पन्न भएको छ । नेवा मिस पुच कास्कीको आह्वान तथा कला र संस्कृतिको संरक्षण, स्थानीय पर्यटन प्रवद्र्धन भन्ने नाराका साथ शनिबार आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए ।
सो अवसरमा उनले पोखराको पुरानो वस्तीका रूपमा रहेको रामकृष्ण टोल, गणेश टोल, भैरव टोल र विन्ध्यवासिनी सम्मको क्षेत्रलाई सम्पदा क्षेत्रका रूपमा विकास गर्ने गरी योजना अघि बढाइएको बताए ।
विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा सञ्चालन गर्न लागिएका १५ वटा दिगो पर्यटन विकासका परियोजना अन्तरगत सम्पदा क्षेत्रका रूपमा यस क्षेत्रको विकास गरिने उनले बताए। पोखरा महानगरपालिका स्थानीय, परम्परागत र मौलिक संस्कृतिको संरक्षणमा प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए ।
महोत्सवमा विभिन्न प्रकारका यमरीका परिकारहरू प्रदर्शनीमा राखिएको थियो भने साँझ सांस्कृतिक कार्यक्रम समेत गरिएको वडाध्यक्ष देवकृष्ण पराजुलीले बताए । नेवारी संस्कृतिमा प्रचलित यःमरी एक विशेष प्रकारको परिकार हो ।










