नवीन समझदारीका लागि प्रधानमन्त्रीसमक्ष राप्रपाको पाँच बुँदे औपचारिक प्रस्ताव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि राजा, राजनीतिक दल र जेनजी लगायतका पक्षहरुबीच नवीन समझदारीको औपचारिक प्रस्ताव गरेको छ ।

शनिबार साँझ प्रधानमन्त्रीलाई भेटेर राप्रपाको तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री कार्कीलाई विभिन्न ५ बुँदे ज्ञापनपत्र बुझाउँदै नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको पहल लिन आग्रह गरेका छन् ।

यस्तो छ राप्रपाले पेश गरेको प्रस्ताव

सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार काठमाडौँ।

बिषयः ज्ञापन पत्र सम्बन्धमा।

२०८२ साल भदौ २३ र २४ गते भएको ऐतिहासिक जेनजी विद्रोह र त्यस पश्चात निर्माण भएको वर्तमान सरकार केवल २०८४ सालमा हुनुपर्ने आवधिक संसदीय निर्वाचन २०८२ सालमा गर्नको लागि मात्रै भएको र बनेको होइन भन्ने राप्रपाको दृष्टिकोण छ।
त्यसैले २०८२ फागुन २१ गते सम्पन्न हुने भनिएको आम निर्वाचन अगावै वर्तमान सरकारबाट तत्काल निम्न विषयहरूमा आफ्नो पहल प्रारम्भ हुन यो ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गरेका छौं।

१. आगामी निर्वाचन अगावै मुलुकको वर्तमान समस्याको दीर्घकालीन र स्थायी समाधानका लागि कोही कसैले भविष्यमा आन्दोलन गर्नु नपर्ने परिस्थिति निर्माणका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतका सम्मिलित सर्वपक्षीय सम्मेलनको आयोजनाबाट देशलाई निकास दिने काम होस्।

२. अब हुने आम निर्वाचनमै अन्तर जिल्ला र विदेशबाट मतदान गर्न पाउने सुनिश्चितता गर्न सम्भव छ र त्यसलाई सुनिश्चित गरेर मात्रै निर्वाचन प्रक्रियालाई अगाडि बढाइयोस्।

३. जेनजी प्रदर्शनमा सहभागी भएकै कारण देशका विभिन्न भागमा भएको प्रदर्शनका सहभागीहरूलाई पक्रने, मुद्दा लगाउने जस्ता कामहरू भइरहेको छ। यसप्रकारका कार्यहरू तत्काल रोकियोस्।

४. जेनजी आन्दोलनका सहिद परिवार, घाइतेहरूको माग अविलम्ब पुरा गरियोस्।

५. सरकारसँग विभिन्न मागहरू लिएर प्रदर्शनमा रहेका र प्रधानमन्त्रीसँग भेट गर्न चाहेका जेनजीहरु माथि भइरहेको दमन र उपेक्षा उपयुक्त छैन। यसप्रकारको कार्य तत्काल बन्द गरियोस् र वार्ता संवादबाट वातावरणलाई शान्त बनाउने प्रयास होस्।
राजेन्द्र लिङ्देन
अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *