पोखराको चुरुङ्गामा तेस्रो संस्करणको दाइँ महोत्सव(फोटोफिचर)

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १९ चुरुङ्गामा तेस्रो संस्करणको दाइँ महोत्सव गरिएको छ । परम्परागत कृषि प्रणालीमा आधारित दाइँ कृषि उपज भित्र्याउने क्रममा परम्परागत ढङ्गले नै गोरुको सहायतामा पराल माड्ने कार्यलाई बुझिन्छ ।

मूल रूपमा धान झारी सकेपछि बाँकी रहेको धान समेत झार्ने र कुन्यू लगाइएको पराल खलामा बिच्छ्याएर त्यसमाथि गोरुलाई लहरै दाम्लो वा डोरीले बाँधेर दाइँमा घुमाउने गरिन्छ । यसलाई कृषकहरूको उत्साह तथा मनोबल उच्च बनाउने उद्देश्य अनुरूप पोखरा महानगरपालिका समेतको सहकार्यमा महोत्सवका रूपमा मनाइएको हो ।

उक्त अवसरमा पोखरा महानगर क्षेत्रमा ५०० मुरी, १०० मुरी र ९८ मुरी धान उत्पादन गर्ने उत्कृष्ट कृषकहरूलाई नगर प्रमुख धनराज आचार्यले विशेष सम्मान प्रदान गरेका छन् । यसले कृषकहरूलाई उत्पादन बढाउन, कृषिको व्यवसायीकरण, गोरु पालक कृषकहरूलाई प्रोत्साहन र उत्प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिकाले पोखराको पहिचानको रूपमा रहेको जेठोबुढो लगायत धानहरूको ब्राण्डीङ गरिरहेको छ भने, रैथाने जातका धानहरूको संरक्षणका लागि कृषकहरूलाई मल, बिउमा अनुदान दिदैँआइरहेको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *