-डा. रामकृष्ण तिमल्सेना
महाभारतको शान्तिपर्व केवल युद्धपछिको भावनात्मक चिकित्सा मात्र होइन, मानव इतिहासका सबैभन्दा गहन राजनीतिक नैतिक पाठहरूको भण्डार हो। युधिष्ठिर युद्धको विभत्स विनाश, रगत, मृत्यु र अपराधबोधले थिचिएका थिए। राज्य अब उनको हातमा थियो तर मन कर्तव्यबोध र पीडाबाट थिलो थिलो भएको थियो। यही समयमा, वाण शय्यामा सुतेर पनि चेतनाको उज्यालो फैलाइरहेका भीष्म पितामह नेतृत्व, शासन, कर्तव्य र नैतिकताको चिन्तन गर्दै राज्यका मूलभूत सिद्धान्तहरू बताउँदै थिए।उनको दर्शन केवल राजधर्मको सैद्धान्तिक निर्देशिका मात्र होइन, नेतृत्व चेतनाको दार्शनिक शास्त्र हो । आजका आधुनिक नेतृत्व सिद्धान्त, व्यवस्थापन विज्ञान, भावनात्मक बुद्धिमत्ता, नैतिक प्रशासन र लोकतान्त्रिक सुशासनसँग प्रत्यक्ष मेल खाने शाश्वत सत्यहरू उनी ओकलिराखेका थिए।
१. नेतृत्वको प्रारम्भ: स्वविजय, आत्म अनुशासन र विवेक
भीष्म भन्छन्- ‘आत्मविजय बिना कुनै राज विजय सम्भव छैन।’ उनको दृष्टिमा नेतृत्वको पहिलो आधार मनको शुद्धता, नियन्त्रण र स्थिरता हो। नेतालाई बाहिरी शत्रुभन्दा पनि आन्तरिक शत्रु-राग, द्वेष, लोभ, क्रोध, मोहले नष्ट गर्छन्। आधुनिक नेतृत्व सिद्धान्तमा यही कुरालाई Self-Regulation, Emotional Intelligence (EI) र Mindfulness Based Leadership को रूपमा व्याख्या गरिएको छ। Goleman को Emotional intelligence सिद्धान्त भन्छ- उच्च पदमा सफल नेतृत्व ८०% भावनात्मक स्थिरता र २०% प्राविधिक कौशलमा आधारित हुन्छ। भीष्मको शिक्षा आधुनिक अनुसन्धानसँग मिल्छ। नेता जति ठूलो जिम्मेवारीमा पुग्छ, ऊ त्यति नै भावनात्मक रूपमा परिपक्व र विवेकशील हुनुपर्छ।
२. नैतिकता र चरित्र- नेतृत्वको आत्मा
भीष्मका अनुसार नेतृत्वको मेरुदण्ड सत्य, धर्म, व्रत, संकल्प र सेवा हो। नेता व्यक्तिगत लाभका लागि होइन, सार्वजनिक हितका लागि जन्मन्छ। उनले स्पष्ट भन्छन् ‘नेता जनताको सेवक हो, स्वामी होइन।’यो आधुनिक Servant Leadership (Greenleaf) को मूल सिद्धान्तसँग पूर्ण मेल खान्छ। आजका प्रभावशाली नेतृत्व सिद्धान्त Authentic Leadership, Transformational Leadership, Ethical Leadership ळगायत सबैले चरित्रको शक्ति, सत्यनिष्ठा (Integrity) र मूल्य केन्द्रित नियन्त्रणलाई नेतृत्वको पहिलो शर्त मान्छन्।
कुनै पनि संस्थान, राष्ट्र वा समुदाय चरित्रबल बिना बाँच्न सक्दैन। भीष्म र आधुनिक नेतृत्व विज्ञान दुवैले यही भन्छन्।
३. न्याय, निष्पक्षता र सहानुभूति: सुसंस्कृत समाजको मूल आधार
भीष्मले नेतृत्वलाई न्यायका आधारमा खडा गरेका छन् ‘राजा न्यायको मूर्त रूप हो।’ उनी भन्छन् ‘दुर्बलको रक्षा र सबलको संयम हेर्ने नेतृत्व नै धर्मयुक्त राज्य हो।’ आजका आधुनिक अवधारणाहरू Rule of Law, Human Rights, Equity-Based Governance, Inclusive Leadership भीष्मको मन्त्रको आधुनिक वैज्ञानिक रूप हुन्। नेतृत्वमा न्याय केवल कानूनी प्रक्रिया होइन, न्याय सहानुभूति, करुणा, impartiality, र मानवीय संवेदनशीलताको संयोजन हो। भीष्मको ‘दयालु शासन’ आधुनिक नेतृत्वको ‘Compassionate Leadership’ संग मिल्दोजुल्दो छ जहाँ नीति निर्णय मानवीय पीडादेखि सुरु हुन्छ।
४. परामर्श, सुन्ने कला र सहकार्य: निर्णयको आधारभूत विज्ञान
भीष्म स्पष्ट भन्छन्-‘एकल निर्णय असन्तुलित हुन्छ; सामूहिक बुद्धिले राष्ट्र टिँगाउँछ।’ उनी नेतृत्वमा सल्लाह, बहस, विचा साझेदारी, र सहकार्य लाई अनिवार्य ठान्छन्। आधुनिक नेतृत्व सिद्धान्तले यिनै कुरालाई Participatory Leadership, Collaborative Governance, Team Intelligence, Multi-Stakeholder Decision-Making को रूपमा औपचारिक बनाएको छ। उच्च गुणस्तरीय निर्णय प्रक्रिया केवल ‘कमाण्ड’ बाट हुँदैन; विविध विचार र दृष्टिकोणको सम्मानबाट हुन्छ। भीष्मले हजारौँ वर्षअघि सुझाएको ‘सुन्ने नेतृत्व’ आजको high-performing organizations को मुख्य नेतृत्व कौशल बनेको छ।
५. भावी दृष्टि, दिगोपन र मूल्यकेन्द्रित शासन
भीष्म नेतृत्वलाई दिगो भविष्य दृष्टि (Vision) मा आधारित देख्छन्। ‘नेता वर्तमान समस्याको समाधान मात्र होइन, भविष्यको सम्भावित संकट हेर्न सक्ने व्यक्ति हो,’ उनी भन्छन्। यो आधुनिक Transformational Leadership र Visionary Leadership सिद्धान्तको मूल हो।नेता केवल व्यवस्थापक होइन; समाजलाई नयाँ प्रगतिमार्गमा उकास्ने परिवर्तन सूत्रधार हो। भीष्मले दीर्घकालीन सोच, नैतिक दिगोपन, पर्यावरण संरक्षण, सामाजिक स्थिरता, र भविष्यका पीढीका आवश्यकता सम्मिलित नेतृत्वको कल्पना गरेका छन्।आजका Sustainable Leadership वा SDG driven Governance जस्तै।
६. संकटका वेला नेतृत्व (Crisis Leadership) र आपदधर्म
‘आपदमा धर्म बदलिन्छ, तर ध्येय बदलिँदैन,’ भीष्मको कथन नेतृत्व मनोविज्ञानको सर्वकालीन सत्य हो।
संकटमा नेता शान्त, विवेकी र दयालु हुनुपर्छ। युद्ध, महामारी, दैवीप्रकोप वा आन्तरिक अस्थिरतामा नेतृत्वले निर्णय आफ्नो व्यक्तिगत भावनाको उन्मादमा होइन, सामूहिक अस्तित्व र भविष्यको रक्षा गर्ने उद्देश्यमा आधारित हुन्छ। आधुनिक Crisis Leadership, Disaster Governance, Organizational Resilience सिद्धान्तमा भीष्मको विचार आधुनिक भाषामा पुनःउच्चारित भएको देखिन्छ।
७. परोपकार, करुणा र मनोवैज्ञानिक सुरक्षा
भीष्मले शासनलाई ‘लोकहित’ केन्द्रित बनाएका छन्। नेताको मनमा करुणा, क्षमा, धैर्य, उदारता र मानवीय संवेदना नभए नेतृत्व क्रूर र दमनकारी बन्छ।आजका संगठनात्मक सिद्धान्तPsychological Safety (Amy Edmondson), Positive Organizational Leadership, Compassionate Governance भीष्मद्वारा वर्णित करुणा शासनको आधुनिक रूप मात्र हुन्। मानिसलाई सम्मान र सुरक्षाको अनुभूति दिने नेतृत्वले नै सृजनशीलता, नवप्रवर्तन र सामाजिक सामञ्जस्य बढाउँछ।
८. व्यक्तिगत उदाहरणद्वारा नेतृत्व: आचरणको शक्ति
भीष्मले वारंवार भन्छन्- ‘नेता शब्दले होइन, आचरणले शिक्षा दिन्छ।’ आधुनिक नेतृत्व मनोविज्ञान यसलाई Behavioral Leadership, Ethical Modeling र Leading by Example को रूपमा अध्ययन गर्छ।
नेताले जति नै सुन्दर भाषण दिए पनि मूल्यहीन बानी, लोभ, अनुशासनहीनता वा असत्यताबाट नेतृत्व विश्वसनीय हुँदैन।भीष्मको जीवन नै “कर्तव्य, व्रत र त्याग” को जीवित शिक्षालय थियो। उनको जीवन आधुनिक नेतृत्वका लागि case-study जस्तै हो।
९. नेतृत्वको अंतिम लक्ष्य-व्यवहारिक निपुणता र आध्यात्मिक उन्नति
भीष्मका अनुसार नेतृत्व केवल भौतिक शासन होइन, नेता राष्ट्रको मनो आध्यात्मिक स्तर पनि उकास्ने शक्ति हो। नेता जति विवेकशील, संयमी, सत्यनिष्ठ र आध्यात्मिक रूपले सन्तुलित हुन्छ, राष्ट्र त्यति नै सभ्य, समुन्नत र न्यायपूर्ण बन्छ।यो आधुनिक Holistic Leadership र Spiritual Leadership सिद्धान्तसँग गहिरो रूपमा मेल खान्छ।
अत: भीष्म र आधुनिक नेतृत्व दुई काल तर एउटै सत्य हुन्। भीष्मको नेतृत्व दर्शन र आधुनिक नेतृत्वविज्ञान दुई अलग पथ होइनन्;दुवै एकै सत्यका दुई भिन्न भाषिक रूप हुन्।नेतृत्व भनेको चरित्र, सेवा, न्याय, विवेक, करुणा र भविष्य दृष्टिको समन्वित शक्ति हो। भीष्मले नैतिकता, आत्मनियन्त्रण, सहकार्य, न्याय र दिगोपनमा आधारित नेतृत्वको दर्शन विकसित गरे, जुन आधुनिक नेतृत्व सिद्धान्तले वैज्ञानिक मनोवैज्ञानिक रूपमा पुष्टि गरिदिएको छ।यसले प्रमाणित गर्छ कि मानव नेतृत्वको शाश्वत सूत्र चेतना, मूल्य र जिम्मेवारीप्रति निर्भर छ।
