कांग्रेसको विशेष महाधिवेशन पक्षधरले भन्यो-वैधानिक रूपमा अघि सारेको मागलाई वेवास्ता नगरियोस्

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको विकल्प नभएको बताएको छ ।

बिहीबार विज्ञप्ति जारी गरी विशेष महाधिवेशन पक्षधरले पार्टीको संरचनागत सुधार गर्ने गरी चुनावमा जाने नेतृत्व खोज्दा डेढ महिनादेखि निर्णय गर्न नसकेको भन्दै आपत्ति जनाएको छ ।

करिव ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि सारेको मागलाई नेतृत्वले बेवास्ता गरेको भन्दै उनीहरुले त्यसो नगर्न चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नियमित महाधिवेशनको मिति तोक्न समेत आनाकानी गर्ने, विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी केन्द्रीय समितिको बैठकलाई अनावश्यक रूपमा लम्ब्याइरहने प्रवृत्ति कुनै पनि हिसाबले जिम्मेवार नेतृत्वको परिचय होइन ।’

असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा विशेष कि नियमित महाधिवेशन भन्ने विषयमा मतभेद भइरहेको छ ।

जसका कारण महाधिवेशनबारे कुनै निर्णय हुन सकेको छैन । कांग्रेसको संस्थापन पक्ष निर्वाचनपछि महाधिवेशन गर्ने दाउमा छ भने इतर पक्ष निर्वाचनअघि कुनै हालतमा महाधिवेशन गर्नुपर्ने अडानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *