काठमाडौं । अनुभवी ब्याट्सम्यान रवि बोपाराले लगातार तेस्रो अर्धसतक पूरा गरेपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध जारी खेलमा प्रतिस्पर्धात्मक योगफल बनाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा चितवनले विराटनगरलाई १ सय ७५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको हो । चितवनको लागि रवि बोपाराले अर्धसतक बनाए । उनले ३८ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा ६५ रन बनाएका हुन् । जारी सिजन उनको यो लगातार तेस्रो अर्धसतक हो । यस्तै सैफ जैबले ३२, देव खनालले २८, कप्तान कुशल मल्लले २० र डेविड मलानले १७ रनको योगदान गरे ।
विराटनगरको लागि सन्दीप लामिछाने र मर्चान्ट डे लान्गाले समान दुई/दुई विकेट लिँदा शुभम रान्जानेले एक विकेट लिए । अब विराटनगरले जवाफी ब्याटिङ गर्नेछ ।
