युक्रेन–अमेरिका बीच शान्ति योजनामा ‘साझा समझदारी’, पुटिनसँग भेट गर्न ट्रम्पका दूत मस्को पठाइँदै

युक्रेन। युक्रेनले रुससँगको युद्ध अन्त्य गर्न अमेरिकी पहलमा तयार गरिएको नयाँ शान्ति योजनाबारे वाशिङ्टनसँग ‘साझा समझदारी’ बनेको जनाएको छ ।

गत हप्तामा अमेरिकाले किभलाई बुझाएको २८ बुँदे प्रस्तावमा दुवै देशका अधिकारीहरूले यसै साता जेनेभामा बसेर परिमार्जन गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत मूल मस्यौदा ‘दुवै पक्षको सुझाव अनुसार परिमार्जन गरिएको’ बताएका छन् ।

ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विट्कफलाई मस्को पठाई राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न निर्देशन दिएका छन्। सोही समय, अमेरिकी सेनाका सेक्रेटरी डान ड्रिस्कल युक्रेनी पक्षसँग छलफल गर्न किभ पुग्ने बताइएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीका प्रमुख सहयोगीका अनुसार ड्रिस्कल यसै साताभित्र किभ आउने अपेक्षा गरिएको छ । यता, क्रेमलिनले आफूलाई नयाँ मस्यौदा अझै प्राप्त नभएको भन्दै सावधानी अपनाउन चेतावनी दिएको छ। रूसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले प्रारम्भिक अमेरिकी प्रस्तावप्रति मस्को सकारात्मक रहेको तर ‘यदि मूल ढाँचामा ठूलो परिवर्तन भएको भए परिस्थिति पूर्ण रूपमा फरक हुने’ टिप्पणी गरेका छन् ।

रूसले युरोपेली देशहरू अमेरिकाको शान्ति पहलमा व्यवधान पुर्याइरहेको आरोप लगाएको छ। अमेरिकाले भने रुसका चिन्ताबारे सार्वजनिक प्रतिक्रिया दिएको छैन। युद्धका मुख्य विवादित मुद्दाहरू—युक्रेनका लागि सुरक्षा ग्यारेन्टी, पूर्वी क्षेत्रका रणनीतिक भूभागको नियन्त्रण आदि—अझै पनि नसुल्झिएको बताइन्छ।

राष्ट्रपति जेलिन्स्कीले ट्रम्पसँग ‘संवेदनशील बुँदाहरू’ बारे छलफल गर्न तयार रहेको र यो महिना सकिनु अघि भेट गर्ने लक्ष्य राखेको बताएका छन्।

ह्वाइट हाउसले सम्भावित द्विपक्षीय शिखर वार्ताबारे टिप्पणी गरेको छैन। तर ट्रम्पले सामाजिक सञ्जालमा युद्ध अन्त्य गर्ने सम्झौता ‘अन्तिम चरणमा पुगेपछि मात्र’ आफू पुटिन र जेलिन्स्की दुवैसँग भेट गर्न इच्छुक रहेको उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *