नाइजेरियामा अपहरण गरिएका ८९ जनाको उद्धार

नाइजेरिया । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको मध्य क्षेत्रमा गत हप्ताको सुरुमा अपहरण गरिएका कम्तीमा ८९ जना पीडितको उद्धार भएको पुष्टि गरेका छन् ।

उद्धार गरिएका पीडितहरूमा क्वारा राज्यको एरुकुको चर्चमा प्राथनाको क्रममा अपहरण गरिएका ३८ जना उपासकहरू र शुक्रबार नाइजरको स्कूल आक्रमणमा पक्राउ परेका कम्तिमा ५१ जना विद्यार्थीहरू रहेको टिनुबुले सामाजिक सञ्जाल एक्समामार्फत विज्ञप्ति जारी गर्दै बताएका छन् ।

अगवारा स्थानीय सरकारी क्षेत्रको सेन्ट मेरी स्कुलमा आक्रमण गर्ने आतङ्ककारीहरूले कम्तीमा ३१५ जना विद्यार्थी तथा शिक्षकहरूलाई बन्धक बनाएको बताइएका छन् ।

उनले नाइजेरियामा भएको अपहरणको घटनाको कारण दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको जी–२० शिखर सम्मेलनका लागि तय भएको योजनाबद्ध यात्रा रद्द गरेका थिए । पीडितहरुको उद्धार सुरक्षा एजेन्सीहरूको समन्वयमा गरेको अपरेसनको कारण सम्भव भएको बताए ।

प्रत्येक नाइजेरियालीलाई राज्यमा, सुरक्षाको अधिकार रहेको उल्लेख गर्दै राष्ट्रलाई सुरक्षित बनाई जनताको रक्षा गर्ने टिनुबुले बताए ।

नाइजेरियाका राष्ट्रपतिले प्रहरी र सरकारी अधिकारीहरूलाई जनताको सुरक्षामा ध्यान केन्द्रित गरि सुरक्षा प्रदान गर्न आदेश दिदै टिनुबुले देशमा विद्यमान सुरक्षा चुनौतिहरूलाई ध्यानमा राख्दै सबै समुदायमा प्रहरी परिचालन गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *