वीरगञ्ज । स्रोत नखुलेको १५ लाख रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले आइतबार पकहाँमैनपुर गाउँपालिका–१ धोरेचेक प्वाइन्टबाट सोही ठाउँका ३४ वर्षे अवधेश पटेल सवार मोटरसाइकलको लेगगार्डबाट १५ लाख बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार निजको साथबाट स्रोत नखुलेको रू एक हजार दरका ७९० थान नोट अर्थात् सात लाख ९० हजार र रु पाँच सय दरका एक हजार ३०१ थान नोट अर्थात् रु छ लाख ५० हजार बरामद गरिएको हो । यस्तै, रु १०० र ५० का अन्य रकमसमेत बरामद गरिएको छ ।
प्रवक्ता बस्नेतले पक्राउ परेका पटेललाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
