काठमाडौं । नेकपा एमालेले जेनजीको नाममा देशमा अराजकता बढ्दै गएको बताएको छ । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत गठन गरिएको जनपरिचालन समितिको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समय जेनजीको नाममा देशमा अस्थिरता र अराजकता बढ्दै गएको बताएका हुन् ।
उनले देशमा अराजकता फैलाउने गतिविधिलाई सरकारले नै संरक्षण र प्रश्रय दिइरहेको आरोप लगाए । उनले अराजकतावादलाई प्रश्रय दिने गतिविधि खतरा बन्दै गएको बताउँदै यस्तो प्रवृत्तिको संगठित प्रतिरोध गर्नुपर्नेमा जोड दिए ।
ज्ञवालीले देशको समृद्धिको मार्गमा अवरोध सिर्जना गर्न देश–विदेशका केही शक्ति सक्रिय रहेको बताए । ती सबै खालका शक्तिलाई परास्त गर्नु आजको आवश्यकता भएको उनले स्पष्ट पारे । प्रत्येक महाधिवेशनदेखि प्रतिगमनविरुद्धको सङ्घर्षसम्म एमालेको जनपरिचालन निर्णायक रूपमा प्रभावशाली रहँदै आएको ज्ञवालीको भनाइ छ ।
बैठकमा एमाले वाग्मती प्रदेश इञ्चार्ज तथा जनपरिचालनका सचिव राजन भट्टराईले यस पटकको एमालेको ११औँ महाधिवेशनमा ऐतिहासिक रूपमा सबैभन्दा ठूलो जनपरिचालन हुने दाबी गरे । महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा हुने तयारी भएको उनले बताए ।
